घोराही उप महानगर पालिकामा मेरो उम्मेदवारी किन ?

घोराही उप महानगर पालिकामा मेरो उम्मेदवारी किन ?

हेमराज शर्मा पोख्रेल,
गठबन्धनवाट मेयरका उम्मेदवार,
घोराही उपमहानगरपालिका

यतिवेला म घोराही उपमहानगरपालिकामा मेयर पदको उम्मेदवार बनेको छु । यही बैशाख ३० गते हुने निर्वाचनमा मलाई म संलग्न पार्टी नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चासहितको पाँच दलीय गठबन्धनले मेयरको उम्मेदवार बनाएको छ । घोराही उपमहानगरपालिको समग्र विकास, प्रगति र उन्नतीका लागि मेरो उम्मेदवारी हो । घोराहीवासीको भाग्य र भविष्य बदल्दै आगामी पाँच वर्षमा घोराहीको मुहार फेर्ने हाम्रो बाँचा हो । हामीसँग आगामी पाँचवर्षमा घोराहीलाई कस्तो बनाउने भन्ने स्पष्ट खाँकासहितको योजना छ । हामीलाई जनताले यसपटक मौका दिनुभयो भने पाँचवर्ष पछि देशको सबैभन्दा ठूलो यो उपमहानगर घोराहीलाई नेपालको सबैभन्दा नमूनायोग्य उपमहानगरपालिकाका बदल्ने हाम्रो संकल्प हो ।

घोराहीलाई नमूनायोग्य उपमहानगरपालिकामा बदल्न हाम्रा निश्चित एजेण्डा छन् । साझा गठबन्धनको तर्फवाट संस्थागतरुपमै हाम्रा एजेण्डा सार्वजनिक गरिसकेका छौं । हामीले अघि सारेका एजेण्डामा घोराही उपहानगरपालिकामा कृषिलाई आधुनिकीकरण गरी गुणस्तरीय सीपमूलक शिक्षा र रोजगारीको ग्यारेण्टी, नागरिक स्वास्थ्यमा स्थानीय सरकारको जिम्मेवारी, निशुल्क स्वास्थ्य विमा, वडा वडासम्म उद्योग, दिगो विकासका लागि सडक पूर्वाधार, स्वस्थ्य खानेपानी, बैज्ञानिक भू–उपयोग तथा व्यवस्थित शहरी विकासको योजना रहेका छन् ।

Europass CV in Nepal

यसैगरी पर्यटन क्षेत्रको विकासका लागि नगर स्तरीय योजना, स्थानीय कला–संस्कृति, भाषा र मौलिक पहिचानका लागि विशेष योजना र अभियान, सुसासन र भष्ट्राचारमुक्त घोराही, सार्वजानिक सेवामा सहज नागरिक पहँुच, जनताको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका लागि स्थानीय सरकारको जिम्मेवारी, जेष्ठ नागरिक, महिला, बालबालिका, दलित र अपाङ्गता भएका व्यक्ति तथा अल्पसंख्यक वर्ग समुदायका लागि विशेष अधिकार, स्वास्थ्य र राहत व्यवस्थाका लागि पनि स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने हाम्रो प्रतिबद्धता छ ।

यस्तै युवा र खेलकूदको विकास, सूचना तथा सञ्चारको विकास, घोराहीलाई हिलोधुलो मुक्त नगरका रुपमा विकास गर्ने, स्थानीय तहका वडा र टोलसम्मका सबै सडकलाई कालोपत्रे गर्ने र सहज यातायात पहुँचको व्यवस्था, अति विपन्न, मजदुर, गरिव किसान, बृद्धबृद्धा, एकल महिलाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने योजना छ । यस्तै कृषकहरुलाई कृषक परिचय पत्र, मल बिउको सहज व्यवस्था, कृषक पेन्सनकोे व्यवस्था गरिने छ ।

विद्युत र खानेपानी निःशुल्क गर्ने हाम्रो एजेण्डा छ । यसैगरी चोक चोकसहित सार्वजानिक स्थलमा फ्रि इन्टरनेट, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ र विशेषज्ञ चिकित्सक अध्ययन सञ्चालन गर्ने र सरकारी विद्यालय तथा अस्पतालहरुलाई सुविधा सम्पन्न गराउने, नगर स्तरीय सरकारी अस्पताल सञ्चालन गर्नेलगायतका एजेण्डा अघि सारिएको छ ।

घोराहीमा हामीले अघि सारेका एजेण्डा कार्यान्वयनका लागि मेयर पदमा म हेमराज शर्मा र उप–मेयर पदमा भुपबहादुर डाँगीसहित वडा तहसम्म नै साझा उम्मेद्वार अघि सारिएपछि आम मतदातामा उत्साह छाएको छ । केन्द्र र प्रदेश सरकारमा जसरी हाम्रो गठबन्धनको सरकार छ, अब स्थानीय तहमा पनि गठबन्धनकै सरकार हुँदा हाम्रो सहज पहुँच हुन्छ, विकासका लागि पर्याप्त वजेट लिन सकिन्छ । केन्द्र र प्रदेशको बजेट नआउने हो भने यहाँ हामीले चाहेजतिको विकास र समृद्धि हुँदैन । त्यसैले केन्द्र र प्रदेशमा जसरी गठबन्धनको संयुक्त सरकार छ, त्यसरी नै घोराहीमा पनि गठबन्धनको सरकार निर्माण गर्नुपर्छ भन्ने जनमतलाई हाम्रो उम्मेदवारीले सम्बोधन गरेको छ ।

अहिले चुनावमा हाम्रो गठबन्धन लोकतन्त्र जोगाउन र संविधानको रक्षाका लागि भएको गठबन्धन हो । अव बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमार्फत् गठबन्धनका उम्मेदवारलाई जिताएर स्थानीय तहमा पनि प्रतिगमनलाई हराउनु छ । हामीले घोराहीमा पनि प्रतिगामी केपी ओली प्रवृत्तिलाई निर्वाचनमार्फत् परास्त गर्न चाहेका हौं । गठबन्धनमा रहेका सबै राजनीतिक दलका नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थकसहित हरेक सच्चा देशभक्त नेपाली र एमालेभित्रका इमान्दार कार्यकर्ताले यतिवेला छातीमा हात राखेर सोचौं, हामीले लोकतान्त्रिक गठबन्धनलाई मतदान नगर्दा भोली फेरि प्रतिगमनकारीहरुले जितेर देशको संविधान र लोकतन्त्र नै धरापमा पर्ने त होइन ?

प्रतिगमनकारीले जिते भने फेरि हामी र हाम्रा छोरा छोरीले लोकतन्त्रका लागि वर्षौ संघर्ष गर्नुपर्ने दिन आउन सक्छ । तसर्थ सवाल लोकतान्त्रिक, सुसासनयुक्त, सबल, सक्षम, समृद्ध, भष्टाचारमुक्त, विकसित घोराही निर्माण गर्ने कि नगर्ने भन्ने हो । हामी गठबन्धनका उम्मेद्वारले जित्दा मात्रै नयाँ घोराही बनाउने हाम्रो अभियानले सार्थकता पाउनेछ ।

Europass CV in Nepal