माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गठबन्धन टुटेको घोषणा गर्दै बालुवाटारबाट बाहिरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको सके ‘बहुमत’ र नसके ‘अल्पमत’ को प्रधानमन्त्री बन्ने योजना असफल हुने संकेत देखिएको छ।
सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको सात दिनको समय सकिने अन्तिम दिन आइतबार (१० पुष) सम्मपनि देउवा माओवादी केन्द्रको समर्थनमा आफैँ प्रधानमन्त्री योजनामा थिए।
पहिलो कार्यकालमा प्रधानमन्त्रीका अलावा राष्ट्रपतिपनि नेपाली कांग्रेसले लिने उनको योजना थियो। एमालेसँगको माओवादीको सम्बन्धका कारण प्रचण्ड गठबन्धन छाडेर जान नसक्ने विश्लेषण उनको थियो।
माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बन्न नसके संविधानको धारा ७२ (३) अनुसारको प्रधानमन्त्री बन्ने योजनामा उनी थिए।बहुमतको सरकार बन्न नसक्ने स्थितिमा प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था यो धाराले गरेको छ।
प्रचण्डले प्रधानमन्त्री नछाड्न जिद्दी गरिरहेको स्थितिमा वार्ता लम्ब्याउँदा राष्ट्रपतिले प्रदान गरेको निर्धारित समयावधि समाप्त हुन्छ। त्यो स्थितिमा देउवा प्रतिनिधि सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्ने बाटो खुल्थ्यो।
यही विश्लेषणका साथ देउवाले राष्ट्रपतिले प्रदान गरेको एक हप्ताको अन्तिम मध्यान्हसम्मपनि प्रधानमन्त्री आफै हुनुपर्ने अडान लिइरहे। र, वार्ता लम्ब्याइरहे।वार्ताको नाममा समय लम्ब्याएर विपक्षीलाई कमजोर पार्ने नीतिलाई राजनीतिमा ‘डायलग एण्ड डिले’ को कार्यनीति भनिन्छ। राष्ट्रपतिले एक हप्ताको समय प्रदान गरेपछि देउवाले कार्यनीति अनुसार वार्ता लम्ब्याउने नीति कार्यान्वयन गरिरहे।
वार्ता लम्बिरहने र सहमति नजुट्दापनि संविधानको धारा ७३ (३) अनुसार प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको हैसियतमा देउवा नै प्रधानमन्त्री नियुक्त हुनसक्ने बुझेका प्रचण्डले आइतबारको बैठकलाई लम्ब्याउन चाहेनन्।
उनी गठबन्धन टुटेको घोषणा गरेर खुमलटार पुगे, खाना खाए। र, तत्काल एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगे।बालकोटमा यतिबेला ओलीको साथमा प्रचण्डका अलावा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका बरिष्ठ नेता अशोक राई छन्। नयाँ सरकार गठनबारे त्यहाँ छलफल चलिरहेको छ।
यसको अर्थ हो– शनिवार साँझसम्म विकसित परिस्थितिबाट ओलीपनि सत्ता गठबन्धन कायम नरहने निक्र्याेलमा पुगिसकेका थिए।बालुवाटार बैठकको अन्तिम परिणति कुरिरहेका उनले सम्भवतः लामिछाने, लिङ्देन र राईलाई ‘स्ट्याण्ड बाई’ मा राखेका थिए। त्यसैले त सत्तागठबन्धन टुटेको घोषणा हुनासाथ उनीहरु बालकोट पुगिहाले।
ओली निवास बालकोटमा अहिले जे जति शीर्ष नेता जम्मा भएका छन्, प्रतिनिधि सभामा सबैको जोड्दा १ सय ५४ सांसद पुग्छ। अर्थात् नयाँ सरकार गठनका लागि सुविधाजनक बहुमतसहितको नयाँ गठबन्धन निर्माण हुन्छ।
ओली, प्रचण्ड, लामिछाने,लिङ्देन, राईसहितको बालकोट बैठकले कसलाई प्रधानमन्त्री बनाउने निर्णय गर्ला, त्यसका लागि केही घण्टा कुर्नुपर्छ। तर, सके बहुमतकै, नसके सबैभन्दा ठूलो दलको हैसियतमा अल्पमतको प्रधानमन्त्री बन्ने देउवाको कार्यनीति भने अब धरापमा परिसकेको छ।