लाखबत्ती बेचेर लाखौं कमाउँछन् पूजा सामग्री बेच्ने सपल

लाखबत्ती बेचेर लाखौं कमाउँछन् पूजा सामग्री बेच्ने सपल

ताप्लेजुङ । पाथीभरा पूजा सामग्री भण्डारका सञ्चालक रमेश घिमिरेको पसलमा यतिबेला सबैभन्दा बढी माग बत्तीको छ । सदरमुकाम फुङलिङको माथिल्लो रोडस्थित उनको पसलमा लाखबत्ती सोध्न दर्शनार्थी आइरहेकै हुन्छन् ।

‘ठ्याक्कै तथ्यांक त राखेको छैन, तर वर्षमा १ करोड ५० लाख भन्दा बढी नै वाती बिक्री हुन थालेको छ’ रमेशले भने,‘बत्ती बाल्ने प्रचलनसँग माग बढेको छ ।’ पूजा विधिमा बत्ती प्रज्ज्वलनको प्रचलन पहिल्यैदेखि भए पनि लाखबत्तीको भने एक/दुई वर्षअघिदेखि मात्रै आएको उनले बताए ।

जीएस पाथीभरा पूजा सामग्री भण्डार फुङलिङमा पनि धेरै वाती बिक्री हुन थालेको छ । वातीको गुणस्तरअनुसारको मूल्य रहेको सञ्चालक सजिना निरौलाले बताइन । उनका अनुसार ३ हजार ५ सयदेखि ५ हजार ५ सय सम्ममा एक लाख वाती पाइन्छ । उनले भनिन्,‘कपासकोलाई बढी मूल्य पर्छ, धागोबाट कातिएको छ भने कम पर्छ ।’ तेलमा भिजाएर बालिन्छ । धागोको सानो खालको भए पाँच लिटर तेलमा भिज्ने व्यवसायीहरूले बताए । ठूला वाती भिज्न ७ लिटरसम्म तेल लाग्ने प्रयोगकर्ताहरू बताउँछन् ।

Europass CV in Nepal

सबैभन्दा धेरै वाती पाथीभरामा बल्ने गरेको छ । पुजारी डिल्ली आचार्यका अनुसार शिवरात्रिको एकै दिन एक करोड बढी वाती मन्दिर क्षेत्रमा बालिएको थियो । यसमा लाखबत्ती बाल्नेको संख्या उल्लेख्य थियो । दिनहुँ लाखबत्ती बालिने गरिएको आचार्यले बताए । ‘पहिलापहिला बलिको प्रथा धेरै थियो,’ उनले भने, ‘पछि मानापाथीमा पैसा भरेर चढाउनेको संख्या बढ्यो, अहिले लाखबत्ती बाल्ने अत्यधिक बढे ।’

पाथीभरा क्षेत्र विकास समितिका अनुसार शिवरात्रिको दिन ३ हजारदेखि ३ हजार ५ सयसम्मले पाथीभरा दर्शन गरेका थिए । ‘जति बढी तीर्थयात्री, त्यत्ति नै बढी बत्ती प्रज्ज्वलन हुन्छ,’ आचार्यले भने । वाती आफैंले पनि बनाउन सकिन्छ । निरौलाका अनुसार ताप्लेजुङमै वाती कातेर बिक्री गर्ने भने अहिलेसम्म भेटिएका छैनन् । ‘१ हजार ५ सयको कपास, धागो नै चाहिन्छ,’ निरौलाले भनिन्, ‘तीन हजार/पैंतीस सयमा बेच्दा फाइदा नभएर होला यहाँ कात्ने भेटिँदैन ।’ वाती बाल्नका लागि पाथीभरा समितिले चारवटा थाल राखिदिएको छ । तीनै थालीमा बाल्ने, मन्दिर परिक्रमा गराउने र मन्दिरको बाहिरपट्टि राख्ने प्रचलन छ ।

वाती बाल्नेहरू अधिकांशले आफैं चोयाको नांग्लो पनि लिएर गएका हुन्छन् । नांग्लोको वरिपरि वाती राख्ने र पूजा गर्ने, बाल्ने र त्यसलाई शिरमा राखेर मन्दिर परिक्रमा गराउने र दीप स्थलमा लगेर राखिदिने गरिएको आचार्यले बताए । ‘पहिला लाखबत्तीको प्रचलन धेरै थिएन,’ पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिका सदस्य सुरेश लिम्बूले भने, ‘चार वटाले पुग्छ होला भनेर त्यहीअनुसारको व्यवस्थापन गरियो, अहिले लाखबत्ती बाल्नेहरू मन्दिर बाहिर बजार लागेजत्तिकै हुन थालेको छ ।’ वाती बाल्ने सामग्री थप गर्ने विषयमा परामर्श भइरहेको उनले बताए ।

मन्दिर परिसर साँघुरो भएकाले मूल प्रांगणबाहिर बालेर मन्दिर परिक्रमा गराउने, मूल थानमा घुमाएर बाहिर राख्ने व्यवस्था मिलाइएको छ । मन्दिर मात्रै नभएर पछिल्ला वर्ष घरमा पनि लाखबत्ती बाल्नेहरू ह्वात्तै बढेका छन् । आचार्य पण्डितसमेत रहेका घिमिरे पहिलापहिला महिनावारीको समयमा कुनै दुत्कार्य भए त्यसको मुक्तिका लागि महिलाहरूले वाती बाल्ने गरेका थिए । अहिले सामूहिक रूपमा बालिन्छ ।

बाल सुबोधिनी संस्कृत माविका प्रधानाध्यापक प्राचार्य रामचन्द्र दाहालका अनुसार शास्त्रमा ‘सपात लक्ष वर्तिका’ भन्ने उल्लेख गरिएको छ । लाखबत्तीको रूपमा १ लाख २५ हजार बत्ती बाल्नुपर्ने हुन्छ । ‘पहिला कपासको वातीको मात्रै प्रचलन थियो,’ दाहालले भने, ‘महिलाहरूले वाती कात्ने र बाल्ने प्रचलन थियो, अहिले धागोको पनि कात्ने चलन भएसँगै धेरै बालिन थालिएको छ ।’ पहिला महायज्ञ गर्दा लाखबत्ती प्रज्ज्वलन गर्नु भन्ने भए पनि अहिले जस्तोसुकै कार्यमा बाल्न थालिएको र मन्दिरमा पनि बाल्ने क्रम बढेको दाहाल बताउँछन् ।

पुराणमा उल्लेख भएअनुसार निश्चित देवीदेवतालाई पुकारा गरी लाखबत्ती बाल्नुपर्ने हुन्छ । पहिला महिला मात्रैले बाल्ने चलन भए पनि अहिले जसले नि बाल्न थालेको उनले बताए । पाथीभरामा भने लाखबत्ती बाल्ने, मानापाथीमा भरेर पैसा चढाउने तीर्थालुको संख्या अधिक भएको छ । बाल्नेहरू अधिकांशले ननिभुन्जलेसम्म तापेर फर्कन्छन् । ३ हजार ७ सय ९४ मिटर उचाइँमा रहेको उक्त मन्दिरमा लाखबत्तीको रापले न्यानो भने प्रदान गर्ने पुजारीहरू बताउँछन् ।