सेना,प्रहरी, दशरथ रंगशाला, वीर अस्पताल र क्याम्पसहरुलाई बहाल कर बुझाउन महानगरको पत्र

सेना,प्रहरी, दशरथ रंगशाला, वीर अस्पताल र क्याम्पसहरुलाई बहाल कर बुझाउन महानगरको पत्र

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पससहित वीर अस्पताल र दशरथ रंगशालालाई बहाल कर बुझाउन ताकेता गरेको छ ।

महानगरले शंकरदेव, रत्नराज्य लक्ष्मी (आर.आर), नेपाल ल, नेपाल कमर्स र सरस्वती बहुमुखी क्याम्पसले आफ्नो क्षेत्रभित्र बहालमा लगाई आम्दानी गरेको तर बहाल कर नतिरेको भन्दै कर तिर्न आग्रह गरेको हो ।

पटक-पटक बहाल कर तिर्न ताकेता गरे पनि नबुझाएको भन्दै महानगरपालिकाले पत्र काटेर १० दिनभित्र तिर्न भनेको हो । महानगरले पत्र प्राप्त गरेको मितिदेखि १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा नियमानुसारको बहाल कर र सोको जरिवनासहित बुझाउन अनुरोध गरेको हो । तोकिएको समयभित्र बहाल कर नबुझाए महानगरपालिकाको राजस्व ऐन,२०७५ बमोजिम कारबाही गरी बाँकी कर असूलउपर गर्न आवश्यक प्रक्रिया बढाइने जनाएको छ ।

नेपाली सेना र प्रहरी कार्यालयलाई बहाल कर बुझाउन महानगरको १० दिने अल्टिमेटम

काठमाडौं महानगरपालिकाले नेपाली सेना र प्रहरीसहित तीन सरकारी निकायलाई घर बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ। नेपाली सेनाको केन्द्रीय कार्यालय थापाथली, समाज कल्याण परिषद लैनचौर र नेपाल प्रहरी प्रधान कार्यालय नक्साललाई बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको महानगरपालिकाका विभागीय प्रमुख शिवराज अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार ती अन्तर्गतका कार्यालयले आफ्नो क्षेत्रभित्र बहालमा लगाएका थिए। उनीहरूले बहाल लगाई आम्दानी गरेको कर बुझाउन महानगरले पटक-पटक ताकेता गर्दै आएको उनले‍ बताए। ताकेता गर्दा पनि अहिलेसम्म कर नबुझएकाले सम्बन्धित निकायलाई बहाल आम्दानीको विवरणसहित कर बुझाउन समयसीमा दिइएको हो।

महानगरले वडा कार्यालयमा गई नियमानुसारको जरिवानासहित बहाल कर बुझाउन भनेको छ। यी निकायले कर नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी कर असुल गरिने जनाएको छ।