सल्यानकाे छत्रेश्वरी गाउँपालिकामा एक दिनमै पुल निर्माण

सल्यानकाे छत्रेश्वरी गाउँपालिकामा एक दिनमै पुल निर्माण

५ भदौ, सल्यान । विकास निर्माणका काम गर्न सरकारी बजेटको मुख ताकेर बस्ने चलन जताततै छ । सरकारी बजेटबाट नै सञ्चालन गरिएका विकास निर्माणका कैयौं योजना वर्षौंदेखि अलपत्र परेको तितो सत्य जताततै छर्लङ्गै छ तर स्थानीयहरु एकजुट भएपछि एकैदिनमा पनि धेरै विकास गर्न सकिन्छ भन्ने उदाहरण सल्यानको छत्रेश्वरी–२ मा देखिएको छ ।

छत्रेश्वरी गाउँपालिका–२ मा स्थानीयको सक्रियतामा एकैदिनमा पुल निर्माण गरिएको छ । पुल बाँसको निर्माण गरिएको हो । यो पुल धेरै वर्ष टिक्दैन तर तत्कालको लागि भने वर्षातको बेला जोखिम मोलेरै खोला वारपार गर्नुपर्ने स्थानीयको बाध्यता टरेको छ । स्थानीयको सक्रियतामा कालाखोलामा एकैदिनमा पुल निर्माण गरिएको हो । पुल निर्माण भएपछि दादर, दहखोला, गोठीखोला, चोरडाँडा, लिरेडाँडाका गरेर करिब ५० घरधुरीलाई सहज भएको छ ।

स्थानीय कृष्णबहादुर बस्नेतको नेतृत्वमा पुल निर्माण गरिएको हो । पुल निर्माणपछि स्थानीयलाई घरदेखि बजारसम्म जान, विद्यार्थीहरुलाई विद्यालय जान तथा घाँसदाउरा जान समेत सजिलो भएको बस्नेतको भनाइ छ । ‘बर्खाको समयमा स्थानीयलाई आउजाउ गर्न निकै समस्या भइरहेको थियो, तत्कालै कुनै निकायबाट बजेट आएर पुल निर्माण हुने सम्भावना भएन, आखिर कति दिन ज्यान जोखिममा राखेर खोला तर्ने ? त्यही भएर बाँसबाट पुल बनाउने सोच आयो’– बस्नेतले भन्नुभयो– ‘स्थानीयहरुको सहकार्य र श्रमदान गरेर एकैदिनमा पुल निर्माण गर्न सफल भएका छौं ।’

Europass CV in Nepal

उहाँले हिउँद र गर्मीयाममा खोला सानो हुने भए पनि बर्खामा ठाडो खोला भएकाले वारपार गर्न समस्या हुने गरेको बताउनुभयो । बॉँसको पुल कति समय टिक्ला र ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो– ‘सरकारी बजेट कहिले आउने हो थाहा छैन तर बर्खा लागि सकेकाले तत्कालको लागि समस्या समाधान गर्न यसले सहयोग गर्नेछ, करिब तीन वर्ष टिकाउ हुन्छ भन्ने हाम्रो अपेक्षा छ ।’ स्थानीय शालिकराम खड्का, पोखर विक, रामबहादुर ओली, इन्द्र केसीलगायत स्थानीयको सक्रियतामा पुल निर्माण गरिएको हो । ‘वर्खाको बेला खोला ठूलो हुने भएकाले बालबालिका बढी प्रभावित थिए, जोखिम मोलेर खोला वारपार गर्थे, अब त मकै गहुँ पिसानीका लागि घट्ट जान समेत सजिलो भएको छ’– बस्नेतले भन्नुभयो– ‘आँट र जाँगर भएमा सामूहिक काम गर्न सजिलो हुने रहेछ, सबैको श्रम परेको हुँदा यसको संरक्षण र मर्मत सम्भार गर्न पनि सबैलाई मन लाग्छ ।’

Europass CV in Nepal