राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २५ किलोको माला लगाउन नमानेपछि

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २५ किलोको माला लगाउन नमानेपछि

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन बिहीबार दाङको तुलसीपुर आए। उनी हालै राप्रपा महाधिवेशनबाट कमल थापालाई हराउँदै अध्यक्ष निर्वाचित भएका थिए।

अध्यक्ष बनेपछि लिङ्देनको चर्चा भइरहेको छ। दाङमा उनका कुरा सुन्न बिहीबार राप्रपाबाहेक अन्य पार्टीका मानिसहरू पनि आएका थिए।

कार्यक्रमका लागि तुलसीपुरको बिपी चोक अगाडि सडकमै मञ्च बनाइएको थियो। मञ्चमा राप्रपाका उपाध्यक्ष ध्रुब प्रधान, महामन्त्री धवलशम्शेर जवरा, लुम्बिनी प्रदेशका अध्यक्ष सुदीप उदय, पूर्वमन्त्री प्रेम भण्डारी लगायतका नेता बसेका थिए।

Europass CV in Nepal

अध्यक्ष लिङ्देनलाई स्वागतको लागि कपिलबस्तुबाट माला ल्याइएका थिए। सयपत्री फूलको २५/२५ केजीका मालाहरु स्टेजतिर उकाल्दै गर्दा धेरैले अभिरूचीपूर्वक नियालिरहेका थिए।

जब माला लगाउन र सम्मान गर्न भनेर टोली मालासहित स्टेजमा उक्लियो, त्यतिखेर उठेर स्वागत गरे पनि अध्यक्ष लिङ्देनले त्यो माला लगाउन मानेनन्। बरू उनले छोएजस्तो गरेर नजिकैको टेबुलमा राख्न इशारा मात्रै गरे।

त्यसपछि फेरि अन्य नेता कार्यकर्ता एउटा-एउटा माला लगेर उनको स्वागतका लागि स्टेजमा उक्लिँदा पनि अध्यक्ष लिङ्देनले उठेर सम्मान गर्दै माला लगाउन मानेनन्। उनले एउटा खादा मात्र लगाए।

केही बेरपछि उनले त्यो खादा पनि निकाले। कार्यक्रमको बीचमा फेरि अर्कौ त्यस्तै २५ किलोको माला लगाइदिन भनेर अर्को समूह स्टेजमा उक्लियो तर त्यो माला लगाउन पनि लिङ्देनले मानेनन्।

यतिबेलासम्म लिङ्देनको गलामा एउटा रूद्राक्षको मालाबाहेक अरू थिएन।

त्यसको केही बेरमा फेरि सयपत्री र मखमली फूलबाट बनाइएको पाँच किलोको माला लगेर अर्को टोली स्टेजमा उक्लियो। त्यो माला पनि उनले उठेर हातले छोए लगाएनन्।

यसपछि हामीले लिङ्देनलाई किन माला नलगाउनुभएको भनेर सोध्यौं। उनले जवाफ दिए- मैले काम नै के गरेको छु र यो सुन्दर फूलको माला लगाउनलाई। म यो माला लगाउन लायक अझैं भइसकेको छैन।

उनले आफू देश र जनताको लागि केही उल्लेखनीय काम गरेपछि मात्रै माला लगाउन लायक हुने बताए। ‘यो फजुल खर्च हो,’ उनले भने, ‘खुसी पार्ने नाममा यति ठूलो माला तयार पार्नु र फूलहरु नष्ट गर्नु सही होइन।’

अध्यक्षले नै माला लगाउन नमानेपछि मञ्चमा रहेका अरू नेताले पनि लगाएको माला निकालेका थिए।सेतोपाटीबाट

Europass CV in Nepal