विवाह गर्न वडाको सिफारिस अनिवार्य

विवाह गर्न वडाको सिफारिस अनिवार्य

सल्यान । जिल्लाको कपुरकोट गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ । दिन प्रतिदिन बढिरहेको बालविवाह न्यूनीकरणका लागि पालिकाले वडाको सिफारिस अनिवार्य गरेको हो ।

जिल्लाका तीन नगरपालिका र सात गाउँपालिका गरी १० स्थानीय तह रहेका छन् । बालविवाह न्यूनीकरणका लागि अन्य पालिकाले प्रहरीसँग साझेदारी गरी सचेतनामुलक विभिन्न कार्यक्रम गरे पनि वडाको सिफारिस अनिवार्य गर्ने कपुरकोट गाउँपालिका पहिलो हो ।

बालविवाह न्यूनीकरणकै लागि पालिकाले ६ वडा कार्यालयबाट सबै व्यवस्थासमेत गरिसकेको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले बताए । पटक–पटक विभिन्न अभियान सञ्चालन गरेर प्रयास गर्दै आए पनि बालविवाह न्यूनीकरण नभएपछि विवाह गर्नुपूर्व सिफारिस अनिवार्य गरेको उनले जानकारी दिए । उनका अनुसार सिफारिसका लागि पालिकाद्वारा सञ्चालित ११ औं गाउँसभाबाट पारित भएको हो । ु

विवाहका लागि जन्मदर्ता पेस गरेपछि मात्र वडाले सिफारिस दिने र सामान्य दस्तुर लिने उनले जानकारी बताए । ‘हामीले बालविवाह न्यूनीकरणका लागि सचेतनामूलक धेरै कार्यक्रम गर्यौं तर रोक्न सकेनौं । १५/१६ वर्षकै उमेरमा विवाह गर्ने झन् बढे । पालिकाका विभिन्न स्वास्थ्यसंस्थामा पहिलो गर्भ परीक्षण गराउन आएका १ सय २० गर्भवती महिलामा २० वर्षमुनिका ३५ जना पाइयो,’ उनले भने, ‘अब विवाह गर्दा २० वर्षभन्दा माथिले सिफारिस पाउँछन् भने त्योभन्दा मुनिकाले पाउँदैनन् ।’

अभिभावकको लापरबाही तथा देखासिकीका कारण पनि बालविवाह बढ्दै गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार ओलीले बताए । बालविवाहका कारण हिंसा, उमेर नपुग्दै सम्बन्ध विच्छेद, शारीरिक समस्या बढ्दै गएको र महिलाले कलिलै उमेरमा ज्यान गुमाउन थालेपछि बाध्य भएर सिफारिसको व्यवस्था गर्नुपरेको उनले जानकारी दिए ।

उनका अनुसार अनिवार्य सिफारिसको व्यवस्था गरे पनि बालविवाह गरेको पाइएमा विवाह गराउने अभिभावकलाई कालोसूचीमा राखेर कारबाही स्वरुप पालिका र वडा कार्यालयबाट हुने सिफारिस र पञ्जीकरणमा दोब्बर शुल्क लिइनेछ ।