अझै नि लोकतन्त्र आको छैन है…

अझै नि लोकतन्त्र आको छैन है…

लोक दोहोरी गायक बद्री पंगेनीले आफ्नो एउटा गीतमा भनेका छन्, “अझै नि लोकतन्त्र आको छैन है, जनताले भनेजस्तो भाको छैन है।” २०६२/६३ को आन्दोलनपश्चात् नेपालमा दुई-दुई पटक चुनाव गरेर संविधान लेखियो। त्यसपछि विभिन्न कालखण्ड पार गर्दै २०८२ सालमा पुनः ‘जेन-जी’ (Gen-Z) आन्दोलनपश्चात् केपी ओलीको भ्रष्टाचारी भनिएको सरकारलाई फालेर अन्तरिम सरकारले चुनाव गरायो। उक्त चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टीले लगभग दुई तिहाइ बहुमतसहित बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन गर्‍यो। तर, एक महिना नबित्दै नयाँ सरकारका मन्त्री र गृहमन्त्रीले विवादित व्यवसायीसँगको व्यापारिक साझेदारी बाहिरिएपछि राजीनामा दिनुपर्‍यो।

राजतन्त्र फालेर गणतन्त्र आएको यतिका वर्ष भइसक्दा पनि अझैसम्म जनताका समस्याहरू समाधान हुन सकेका छैनन्। भूमिहीनले जग्गा पाएका छैनन्, महँगी चरम सीमामा पुगेको छ, र दलितहरू अझै मारिनु परेको अवस्था छ। इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीको हिरासतभित्र सुनकोशी गाउँपालिकाका २२ वर्षीय युवा कृष्ण विकको रहस्यमय मृत्यु भएको घटनाले गम्भीर प्रश्नहरू उठाएको छ। अहिले बनेको नयाँ सरकारबाट जनताले केही आशा त गरेका थिए, तर सरकार गठन भएको एक महिना नबित्दै दुई-दुई जना मन्त्री बहिर्गमनमा परेको देख्दा यो सरकार पनि कतै पहिलेजस्तै बिचौलियाको चंगुलमा फस्ने त होइन भन्ने शंका जनतामा उब्जिन थालेको छ।

नेपाली जनताहरू एकदमै कमलो मनका छन् र पुराना कुराहरू एकदमै छिटो भुल्ने गर्छन्। त्यसैले नेपालीको मन बहकाउन जो-कोहीले पनि सजिलै सक्छन्। अझ अहिले त सामाजिक सञ्जालको अनियन्त्रित जालोमा नेपालीहरू चुर्लुम्मै फसेका छन्। सामाजिक सञ्जालमा आउने गलत जानकारी र भ्रामक समाचारले नेपालीको दिमाग एकदमै भुटेको छ, जसकारण सही निर्णय लिन नसक्दा थप गाह्रो हुने देखिएको छ।

२०६२/६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो। तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्गचित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए। तत्कालीन राजाको प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिन्छ। सोही दिनको स्मरणमा आज (११ वैशाख) २० औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

अर्कोतर्फ, गणतन्त्र दिवसकै अघिल्लो दिन काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्तीमा प्रहरी टोलीले राति छापा मारेको छ। सरकारले सुकुम्वासी बस्तीहरू अतिक्रमित भएको भन्दै आउँदो शनिबार र आइतबारभित्र खाली गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएको छ। सुरक्षा प्रमुखहरूलाई डाकेर प्रधानमन्त्रीले ‘अतिक्रमित सुकुम्वासी बस्ती खाली गर्नू’ भनेर निर्देशन दिएपछि भोलि शनिबार र आइतबार सुकुम्वासी बस्ती हटाइँदै छ। यता, सुकुम्वासी बस्तीका बासिन्दाहरूले भने आफ्नो जीवन संकटमा परेको भन्दै वास्तविक सुकुम्वासीको वर्गीकरण गरेर मात्र समस्या समाधान गर्नुपर्ने माग गरेका छन्।

सरकारले उचित कानुन बनाएर यो विषयलाई सधैँका लागि अन्त्य गर्नुपर्ने नागरिकहरूको भनाइ छ। तर, यो सरकारले पनि उक्त कामलाई विनायोजना एकैपटक हतारमा गर्न खोजेको देखिँदै छ। त्यसैले, माथि भनिएको गीतमा जस्तै जनताले प्रत्यक्ष आभास गर्ने गरी गणतन्त्र अझै आएको छैन। त्यो कहिले आउँछ भन्ने पनि थाहा छैन; समय बितिरहन्छ, अवस्था यस्तै भइरहन्छ।