घोराही, दाङ । १६ औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दोहोरो रजत पदक जित्न सफल गोरक्ष रत्ननाथ माध्यमिक विद्यालयकी छात्रा अनुजा चौधरीलाई विद्यालयले भव्य सम्मान गरेको छ। कक्षा ९ मा अध्ययनरत अनुजाले राष्ट्रिय स्तरमा हासिल गरेको उपलब्धिले विद्यालय, दाङ जिल्ला तथा लुम्बिनी प्रदेशको गौरव बढाएको भन्दै विशेष समारोहबीच सम्मान तथा बधाई ज्ञापन गरिएको हो।
राष्ट्रिय प्रतियोगितामा अनुजाले ४×१०० मिटर रिले तथा ४×४०० मिटर रिले दौडमा उत्कृष्ट प्रदर्शन गर्दै दुई रजत पदक जितेकी थिइन्। राष्ट्रिय स्तरसम्म पुग्नुअघि उनले लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समेत उत्कृष्ट नतिजा निकाल्दै आफ्नो खेल प्रतिभा प्रदर्शन गरेकी थिइन्।
प्रदेशस्तरीय प्रतियोगितामा अनुजाले ४×१०० मिटर र ४×४०० मिटर रिले दौडमा स्वर्ण पदक जितेकी थिइन्। त्यसैगरी ट्रिपल जम्प र ४०० मिटर दौडमा रजत पदक हात पार्दै उनले बहुआयामिक खेलाडीको परिचय दिएकी थिइन्।

अनुजाको व्यक्तिगत सफलतासँगै गोरक्ष रत्ननाथ माध्यमिक विद्यालयले यस वर्ष समग्र खेलकुद क्षेत्रमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेको छ। विद्यालयले नगरस्तरीय खेलकुद प्रतियोगितामा द्वितीय स्थान प्राप्त गरेको थियो भने जिल्ला राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो सशक्त उपस्थिति दर्ज गराएको थियो।
सम्मान कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सेमलाल मल्लले अनुजाको सफलताले विद्यालय मात्र नभई समग्र क्षेत्रकै प्रतिष्ठा बढाएको बताए। उनले पढाइ र खेलकुदलाई सँगसँगै अघि बढाउँदै अनुजाले अन्य विद्यार्थीका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको उल्लेख गरे।
त्यसैगरी सहायक प्रधानाध्यापक सुमन पौडेलले अनुजाको सफलता निरन्तर मेहनत, अनुशासन र समर्पणको परिणाम भएको बताए। विद्यालयले शैक्षिक विकाससँगै खेलकुदलाई पनि समान प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उनले यस्ता उपलब्धिले अन्य विद्यार्थीलाई समेत सकारात्मक प्रेरणा दिने विश्वास व्यक्त गरे।
विद्यालयका खेलकुद शिक्षक अर्जुन घिमिरेले अनुजाको राष्ट्रिय सफलता विद्यालयका लागि गौरवको विषय भएको बताए। उनले विद्यालयले नगर र जिल्ला स्तरमा हासिल गरेको उत्कृष्ट नतिजा शिक्षक, विद्यार्थी र अभिभावकको सामूहिक प्रयास तथा निरन्तर मेहनतको प्रतिफल भएको उल्लेख गरे।
विद्यालय परिसरमा आयोजित सम्मान कार्यक्रममा शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा अनुजा चौधरीलाई अबिर, खादा, प्रशंसापत्र तथा सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको थियो।
अनुजाको सफलताले विद्यालयमा उत्साह र गर्वको वातावरण सिर्जना गरेको छ। साथै आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका थप खेलाडी उत्पादन गर्ने विद्यालयको अभियानलाई नयाँ ऊर्जा मिलेको विश्वास गरिएको छ। राष्ट्रिय प्रतियोगितामा दोहोरो रजत पदक जित्दै अनुजा चौधरीले आफू मात्र नभई गोरक्ष रत्ननाथ माध्यमिक विद्यालय, दाङ जिल्ला र समग्र लुम्बिनी प्रदेशकै प्रतिष्ठा उँचो बनाएकी छन्।






