प्रचण्डको अभिव्यक्तिका कारण सेयर बजारमा सवा खर्बको क्षति

प्रचण्डको अभिव्यक्तिका कारण सेयर बजारमा सवा खर्बको क्षति

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिका कारण सेयर बजारका लगानीकर्ताको सम्पत्ति सोमबार एक खर्ब १२ अर्ब रूपैयाँ घटेको छ।माओवादीका अध्यक्षले पुँजी बजारलाई साम्राज्यवादको विकसित रूप भएको बताएपछि पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सेयर बजार परिसूचक (नेप्से) सोमबार ८० अंक झरेको छ।

Advertisement. Custom Text

‘बजार यसै पनि झरिरहेको थियो। प्रचण्डको भनाइले पोलेको घाउमा नुन छर्किएजस्तो भयो,’ एक सेयर ब्रोकरले भने, ‘प्रचण्डको भनाइबाहेक सोमबार बजार घट्नुपर्ने त्यस्तो कुनै नयाँ सूचना थिएन।’

शनिबार माओवादी केन्द्रको प्रदेश सम्मेलन उद्घाटन गर्ने क्रममा प्रचण्डले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा एकोहोरिएको बताएका थिए। यसलाई उनले साम्राज्यवादको विकसित रूप भनेका थिए।

‘मेरो पोर्टफोलियोमा हिजो ७ लाख २ हजार रूपैयाँ थियो। आज ६ लाख ३७ हजारमा झरेको छ,’ मीनभवन क्याम्पसका विद्यार्थी इशान घिमिरेले भने, ‘मैले एकै दिनमा ७० हजार रूपैयाँ गुमाएँ।’

Advertisement. Custom Text

सोमबार सेयर बजार परिसूचक २२८२ मा आयो। यस दिन कारोबार भएका १ सय ८९ कम्पनीमध्ये ५ वटाको मात्रै सेयर मूल्य बढ्यो। बजार यस दिन राताम्मे रह्यो।नेप्से घट्दा अघिल्लो दिन ३३ खर्ब १९ अर्ब रहेको बजार पुँजीकरण (बजारमा सूचिकृत सेयरको मूल्य) सोमबार ३२ खर्ब ७ अर्ब कायम भएको छ।

सामाजिक सञ्जालहरूमा प्रचण्डको भनाइको व्यापक आलोचना भएको छ। योजना आयोगका उपाध्यक्ष विश्व पौडलले फेसबुकमा सेयर साम्राज्यवादको साधन नभएर सम्पत्ति सुरक्षित राख्ने वैकल्पिक माध्यम हो भनेका छन्।

बैंकर, लगानीकर्ताका नेताहरूले पनि फेसबुक तथा ट्विटरमा प्रचण्डको आलोचना गरेका छन्। हाल देशभरका ४७ लाख ४३ हजार जनाले सेयर खाता खोलेर कुनै न कुनै कम्पनीको सेयर किनेका छन्। स्टक एक्सचेन्जमा कारोबार गर्न ११ लाखले सेयर ब्रोकरकहाँ खाता खोलेका छन्।

प्रचण्डले नेपाल लगायत विश्वभर नै पुँजीको लगानी धितोपत्र, सट्टा बजार, आईएमएफ, विश्व बैंक र एसियाली बैंकहरूमा हुने गरेका बताए। त्यस्तै उद्योग र उत्पादन क्षेत्रमा पुँजीको लगानी नहुनु नै वित्तीय पुँजीवादको विशेषता भएको दाबी गरेका थिए।

वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाएर अगाडि बढाउने, नाफा उठाएर विश्वका सीमित पुँजीपतिको हातमा संसारकै धन एकठ्ठा गर्ने योजना भएको उनको ठहर छ।

‘यसरी विश्वको पैसा सीमित पुँजीपतिहरूले हातमा लिएर ८० प्रतिशत जनतालाई भोको र नांगो राख्ने प्रणाली पुँजीबजार हो। पुँजीबजारमा लगानीको विकास र विस्तारलाई हामीले परास्त गर्नु सक्नुपर्छ,’ उनले भने, ‘पुँजीबजारबाट पुँजीपतिहरूले सिधै पुँजीबाट पुँजी लिने गर्छन्। अब पुँजीको लगानी उत्पादनमा हुँदैन।’

सेयर बजारका बारेमा नकारात्मक टिप्पणी गर्ने प्रचण्ड एक्ला कम्युनिस्ट नेता होइनन्। गत असोजमा उनकै दलका नेता अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारलाई हावा भरिएको बेलुनजस्तो भएको टिप्पणी गरेका थिए। पूर्व अर्थमन्त्री युवराज खतिवडा पनि सेयर बजारप्रति सकारात्मक थिएनन्। उनले २०७४ फागुनमा एक रेडियो अन्तर्वार्तामा सेयर बजार अनुत्पादक क्षेत्र हो भनेका थिए।

सेयर बजारमा तिखो टिप्पणी गर्नेमा प्रचण्ड प्रधानमन्त्री हुँदा अर्थमन्त्री बनेका बाबुराम भट्टराईको नाम सबभन्दा अगाडि आउँछ। २०६५ भदौ १५ गते नेप्से उच्च विन्दु (११७५) पुगेका बेला भट्टराईले सेयर बजारलाई ‘जुवा घर’ भनेका थिए। लगत्तै उनले प्रस्तुत गरेको बजेटमा सेयर कारोबारबाट हुने नाफामा करको दर दोब्बर बनाए।

पछि बाबुराम प्रधानमन्त्री भएर वर्षमान पुन अर्थमन्त्री हुँदा सेयर बजार निकै तल (नेप्से २९२ मा) आइपुगेको थियो। उनले सेयर बजार सुधार गर्ने भनेर नेप्सेलाई ५०० मा पुर्‍याउने लक्ष्य राख्दै विभिन्न कार्यक्रम पनि सार्वजनिक गरेका थिए।

‘कम्युनिस्टहरूले जानेर हो वा नजानेर सेयर बजारप्रति अनौठौ व्यवहार गर्दै आएका छन्,’ विश्लेषक दिनेश लामिछाने भन्छन्, ‘अनावश्यक टिप्पणी गरेर उनीहरूले सर्वसाधारणको सम्पत्ति जोखिममा पारिरहेका छन्।’

प्रचण्डले भनेझैं सेयरको सुरूआत साम्राज्यवादीहरूले नै गरेका हुन्। सन् १६०२ मा भारततर्फ मसला र दासहरूको व्यापार गर्ने एकाधिकार पाएको डच इस्ट इन्डिया कम्पनीले संसारमै सबभन्दा पहिले सेयर जारी गरेको हो।

झन्डै सय वर्षसम्म यो कम्पनीले सेयरधनीलाई १२ देखि ६३ प्रतिशतसम्म लाभांश दिएको थियो। सफलताको शिखरमा रहेका बेला यो कम्पनीसँग ४० वटा नौसैनिक जहाज, सामान ढुवानी गर्ने १५० पानीजहाज, १० हजार सेना र थुप्रै कामदार र दासहरू थिए।

सन् १८०० मा यो कम्पनी टाट पल्टियो।

‘व्यापारको लक्ष्य, तौरतरिका नै गलत भएकाले कम्पनी टाट पल्टिएको हो,’ लामिछाने भन्छन्, ‘प्रचण्डले सूचना अद्यावधिक गर्नुपर्ने देखियो। अहिलेको संसारमा सेयरलाई त्यसरी बुझिनु हुँदैन। उद्योग-व्यवसाय त्यसरी चल्दा पनि चल्दैन।’