मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

युक्रेनी सीमाबाट फर्किन थाले रुसी सैनिक

Himali Patrika 1 मिनेट पढाइ

लन्डन ।  रुसले युक्रेनी सीमामा खटाइएका केही सैनिक फिर्ता गरेको घोषणा गरेको छ । रुसी रक्षा मन्त्रालयले मंगलबार ठूलो संख्यामा सैनिकहरूले अभ्यास भने गरिरहेको जनाएको छ । सेनाको केही इकाइ मात्रै आफ्नो बेसक्याम्पमा फर्किएको उसको भनाइ छ ।‘केही संख्यामा कम्ब्याट ट्रेनिङ भने अझै जारी छ ।

यो यसअघिको योजनाअनुसार नै हुनेछ,’ रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले भनेका छन्, ‘केही सैनिक भने आफ्नो बेसक्याम्पमा फर्किएका छन् ।’ हाल रुस र बेलारुसको संयुक्त सेनाले सैन्य अभ्यास गरिरहेको छ । यो आगामी फेब्रुअरी २० सम्म चल्ने बताइएको छ ।

रुसले सीमा क्षेत्रबाट सेना फिर्ता गर्न थालेको सम्बन्धमा हालसम्म स्वतन्त्र पुष्टि भने हुन नसकेको बीबीसीले लेखेको छ । तर उक्त कदमलाई लिएर अन्तर्राष्ट्रिय क्षेत्रले चासो भने प्रकट गरेका छन् । रुसले गत नोभेम्बरदेखि युक्रेनी सीमा क्षेत्रमा एक लाखभन्दा बढीको संख्यामा सैनिक तैनाथ गरेको छ । तर सैनिक तैनाथी युद्धको तयारी भने नभएको रुसले बताउँदै आएको छ ।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सैनिक फिर्ता भएको देखेपछि मात्रै विश्वास गर्ने प्रतिक्रिया दिएका छन् । ‘रुसलाई युद्धतर्फ अघि बढ्न रोक्नका लागि हामी हाम्रा सहयात्रीहरूसँगको सहकार्यबाट सफल बन्नेछौं,’ उनले भनेका छन् ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखरोवाले पश्चिमाहरूले गरिरहेको युद्ध प्रचारको नीति विफल हुने बताएकी छन् । ‘त्यो दिन इतिहासमा लेखिनेछ, जुन दिनमा पश्चिमाहरूको युद्ध प्रचार नीति विफल हुनेछ । एउटा गोली पनि नचलाई उनीहरूको प्रयास नामेट हुनेछ,’ उनले भनेकी छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।