नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह चरणको तेस्रो खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै अन्तिम चारमा स्थान पक्का गरेको हो।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमै ५ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा गुलशन झाले ३५ बलमा अविजित ४४ रन बनाए भने कप्तान रोहित पौडेल ३७ बलमा २४ रनमा नटआउट रहे। इशान पाण्डेले ४० र देव खनालले ३९ रन बनाए। आसिफ शेखले २० तथा अर्जुन कुमालले १५ रनको योगदान दिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो। उसका लागि ओपनर अब्दुल वाहिदले ७७ रन बनाए। उनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे। मुहम्मद आतिफले ३० तथा मोहम्मद हिशाम शेखले २८ रन जोडे।
नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा १९ रन दिएर ३ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले पनि ३ विकेट लिए भने ललित राजवंशीले २ तथा गुलशन झा र शेर मल्लले १-१ विकेट लिए।
साउदी अरेबियाले एक समय ११२ रनमा २ विकेट गुमाएको थियो। तर अब्दुल वाहिद आउट भएपछि नेपालको स्पिन आक्रमणले लगातार विकेट झार्दा साउदी १६६ रन पुग्दा ९ विकेट गुमाउने अवस्थामा पुगेको थियो।
यो नेपालका लागि प्रतियोगितामा लगातार तेस्रो जित हो। नेपालले यसअघि बहराइनलाई ७ विकेट र आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।
नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ। उक्त खेलपछि समूहको शीर्ष स्थानको टुंगो लाग्नेछ।