मुख्य सामग्रीमा जानुहोस्
Thursday, 24 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

एमाले त्यागेका घनश्याम भूसालले पाए ‘त्रिभुज’ चुनाव चिह्न

Himali Patrika 1 मिनेट पढाइ

६ असोज, काठमाडौं । नेकपा एमाले त्यागेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले चुनाव चिह्न त्रिभुज पाएका छन् । निर्वाचन कार्यक्रम अनुसार बुधबार उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको छ । त्यस क्रममा भूसाललाई त्रिभुज चिह्न दिएको हो । भूसालले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र विकास भनी व्याख्या गरेका छन् ।

नेकपा एमालेबाट दुई जना लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जना नेता-कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् । रुपन्देहीको
क्षेत्र नं १ का मतदाता रहेका उनीहरूले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

साथै उनीहरूले प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही १ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएका घनश्याम भूसाललाई सहयोग गर्ने घोषणा गरेका छन् । रुपन्देही १ अन्तर्गत रोहिणी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष तथा एमाले प्रदेश कमिटी सदस्य सनोजकुमार यादव, एमाले प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका कमिटी सचिव इन्द्रजीत कुमार राय लगायतले पार्टी त्यागेको घोषणा गरेका हुन् ।

सनोज गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट पालिका प्रमुख पदका प्रत्यासी थिए । पार्टी परित्याग गरेका उनीहरूले क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका एमाले पूर्वउपमहासचिव घनश्याम भूसाललाई समर्थन गरेको बताए ।

‘उहाँ मार्क्सवादी वैचारिक नेता हुनुहुन्छ, पार्टीमा उहाँको नीति लागू हुने तर भूसाललाई सधैँ पाखा लगाउने काम भयो’, राजीनामा दिएका सनोजकुमार यादवले भने, ‘एमालेमा नीति एउटाको नेतृत्व अर्कैको भयो ।’ पार्टीमा निरंकुशता र इमान्दार नेताकार्यकर्तालाई पाखा लगाउने काम भएको आरोप उनले लगाए ।

प्रदेश सदस्यबाट राजीनामा दिएका अर्का नेता शैलेन्द्र उपाध्यायले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा तानाशाही प्रवृत्ति देखाउने गरेको आरोप लगाए । पार्टीबाट राजीनामा दिने अन्य कार्यकर्तामा रोहिणी गाउँ पार्टी कमिटीका पदाधिकारी, सदस्य, वडा कमिटीका पदाधिकारी तथा सदस्य र युवासंघका स्थानीय नेता-कार्यकर्ता छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विपक्षीलाई सहयोग गरेको आरोप लगाउँदै उनीहरूले राजीनामा दिएका हुन् । ‘पार्टी राम्रो हुँदाुहँदै पनि पार्टीमा नीति नभई व्यक्ति हावी भएको, पार्टी अध्यक्षको निरंकुशता, इमान्दार नेतालाई पाखा लगाइएको, चरम गुटबन्दी, स्थानीय निर्वाचनमा पार्टी नेतृत्वको असहयोग जस्ता विभिन्न कारणले गर्दा हामी एमालेमा रहन सकेनौं’, उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रुपन्देही–१ बाट नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धनबाट प्रतिनिधिसभाका लागि एमालेका छविलाल विश्वकर्मा, प्रदेशसभा सदस्यको लागि एमालेकै दधिराम न्यौपाने र राप्रपाका आशीष चौधरीले उम्मेदवारी दिएका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।