- गिरबहादुर महरा
घोरही। विद्यार्थी आन्दोलन भन्नासाथ एक शक्तिशाली आवाज मानिन्छ , जसले समाजमा परिवर्तनको रुपरेखा निर्धारण गर्छ तर, आन्दोलन केवल भाषण, नाराबाजी र विरोध प्रदर्शनले मात्र सशक्त हुँदैन। यसमा प्रमुख रुपमा नेतृत्वको आचरण र इमानदारिता र सोचका आधारमा विद्यार्थी आन्दोलनका नेतृत्वहरू चन्दाबाट होइन, आफ्नै श्रमबाट बाँच्नुपर्छ भन्ने कुरा नै अहिलेको आबस्यकता हो ।
विद्यार्थी नेताको रूपमा विद्यार्थी राजनीतिमा होमिई सके पछि मैले बुझ्ने गरेको मुख्य कुरा के हो भने, श्रमले मात्र हाम्रो आन्दोलनलाई सही दिशा निर्देश गर्न सक्छ। हामीले परिवर्तनको माग गरिरहेका छौं भने हामी आफैंले त्यो परिवर्तनको नमूना प्रस्तुत गर्नुपर्छ। श्रमले मानिसलाई इमानदार बनाउँछ। जब हामीले आफ्नो जीवन आफ्नै श्रमबाट चलाउँछौं, हामी अरूलाई परिवर्तनको लागि आग्रह गर्दा आत्मविश्वासी र स्वतन्त्र महसुस गर्छौं।
चन्दाबाट बाँच्दा हामी परनिर्भर बन्छौं। यो परनिर्भरताले आन्दोलनको स्थिरतामा धक्का पुर्याउँछ। हामीले कहिल्यै अरूको दयामा बाँच्ने आदत बसाउनु हुँदैन। हामीले हाम्रो आन्दोलनको उद्देश्यलाई स्वावलम्बन र इमानदारीको धरातलमा राख्नुपर्छ। चन्दामा निर्भर भई बाँच्दा हाम्रो आन्दोलनलाई दिगो बनाउन सकिँदैन, र कहिलेकाहीं यसको गलत दुरुपयोगसमेत हुन सक्छ।
मैले अखिल (क्रान्तिकारी) दाङको २ वर्षे कार्यकाल भर्खरै सम्पन्न गरेकी छु ।म नेतृत्वमा हुँदै गर्दा मैले उठाएको आवाज र लागू गर्न गरेको प्रमुख प्रयास नै विद्यार्थी नेतृत्व कतै कतै आर्थिक उपार्जन र उत्पादनमा जोडिनु पर्छ भन्ने नै हो । केही हद सम्म यो कुरा लागु पनि भएको छ।
मैले अगाडि पनि भने कि विद्यार्थी आन्दोलनहरूले समाजमा ठूलो परिवर्तन ल्याएको छ तर यी आन्दोलनहरूको दीर्घकालीन सफलताको आधार भनेको नेतृत्वको नैतिकता र इमानदारीताएउटा इमानदार एउटा विस्वास गर्ने आधार हो । आजको दिनमा आफ्नो श्रमबाट बाँच्नु भनेको समाजमा विश्वासिलो नेतृत्व प्रस्तुत गर्नु हो।
विद्यार्थी नेताहरूले समाजलाई देखाउनुपर्छ कि उनीहरू परिवर्तनको मात्र कुरा गर्ने मानिस होइनन्, उनीहरू परिवर्तनको लागि मेहनत गर्ने मानिस हुन्। हामीले हाम्रो परिश्रमले मात्रै समाजमा सही उदाहरण प्रस्तुत गर्न सक्छौं। जब हामी श्रम गर्छौं, हामी न केवल आर्थिक रूपमा स्वतन्त्र हुन्छौं, हामी नैतिक रूपमा पनि बलियो हुन्छौं।
चन्दा संकलन गर्नु, कुनै पनि आन्दोलनको लागि आर्थिक स्रोत जुटाउने एउटा बाटो हो। हामीले विद्यार्थी आन्दोलना ठुला कार्यक्रम हरुमा सामान्य सहयोग नलिएको होइन तथापि यसको सहि सदुपयोगमा ध्यान केन्द्रीत पनि गरेका छौ । तर चन्दामा आधारित जीवनशैलीले नेताहरूलाई आन्दोलनको वास्तविक उद्देश्यबाट विचलित तर्फ डोर्याउने खतरा भन्ने कुरामा हामी विस्वस्त हुन आबस्यक छ ।
विद्यार्थी नेताहरूले आफ्नो श्रमको मूल्य बुझ्नु अहिलेको प्रमुख आबस्यकता हो । आफ्नो जीवन आफ्नै श्रमबाट चलाउनु भनेको सम्मानजनक जीवन जिउनु हो। श्रममा आधारित आन्दोलनहरू मात्रै दीर्घकालीन प्रभावकारी बन्न सक्छन्, किनकि ती आन्दोलनहरू आन्तरिक रूपले सशक्त र आत्मनिर्भर हुन्छन्। हामीले समाजको लागि त्यही मूल्यलाई स्थापित गर्नुपर्छ, जुन हामीले श्रमको माध्यमबाट आर्जन गर्छौं।
आजको नयाँ पुस्ताका विद्यार्थी नेताहरूलाई श्रमको महत्व बुझ्न अति आबस्यकक छ । हामीले हाम्रो आन्दोलनलाई ईमानदारी, पारदर्शिता र श्रममा आधारित बनाउदै अगाडि बढाउन सकियो भने विद्यार्थी आन्दोलनको बहस नयाँ सिराबाट सुरु हुन्छ ।
समाज परिवर्तनको बहसलाई एउटा टुङ्गोमा पुर्याउनु आजको विद्यार्थी आन्दोलनको एतिहासिक कार्यभार हो ।
अन्त्यमा, विद्यार्थी आन्दोलनमा नेताहरूको भूमिका केवल भाषण दिनु र विरोधको अगुवाइ गर्नु मात्र होइन। यो भूमिकाको सार भनेकै इमानदारी, पारदर्शिता र श्रममा आधारित जीवनशैली हो। श्रमबिहिन जीवनशैलीले विद्यार्थी नेताहरूलाई मात्र कमजोर बनाउँदैन, यसले आन्दोलनलाई नै कमजोर बनाउँछ। त्यसैले, हामीले श्रमको मूल्य बुझ्नुपर्छ र आफ्नो आन्दोलनलाई सशक्त, स्थिर र प्रभावकारी बनाउनु पर्छ।
(लेखक: गिरबहादुर महरा, निवर्तमान अध्यक्ष – अखिल (क्रान्तिकारी) दाङ, केन्द्रिय सदस्य – अखिल (क्रान्तिकारी))