भोलिको संसद् बैठकमा एमसीसी पेस हुनेमा प्रधानमन्त्री देउवा विश्वस्त

भोलिको संसद् बैठकमा एमसीसी पेस हुनेमा प्रधानमन्त्री देउवा विश्वस्त

काठमाण्डाै । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि बुधवार बस्ने प्रतिनिधि सभाको बैठकमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन सम्झौता एमसीसी पेस हुने बताउनुभएको छ ।

आज मङ्गलवार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भोलिको बैठकमा एमसीसी सम्झौता पेस गर्ने विषयमा आफूले सभामुखसँग परामर्श गरिरहेको र सम्झौता पेस गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

‘भोलिको बैठकमा एमसीसी पेस हुनेमा म विश्वस्त छु, यो विषयमा मैले सभामुखज्यूसँग परामर्श गरिरहेको छु’, प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै महामन्त्री गगन थापाले भन्नुभयो । बैठकले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।

एमसीसी सम्झौता यो अवस्थासम्म आउँदा सबै दल सरकारमा बसेर कुनै न कुनै निर्णय गरेकाले अहिले विरोध गरेर उम्कन नपाइने पनि कांग्रेस बैठकले निष्कर्ष निकालेको छ ।

एमसीसी राष्ट्रहितमा छ, अनुमोदन नगरे अमेरिकासँग सम्बन्ध बिग्रन्छ : डा. महत

नेपाली कांग्रेसका नेता डा.रामशरण महतले एमसीसी अनुमोदन नगरे अमेरिकासँग सम्बन्ध बिग्रने बताएका छन् । राष्ट्रको हितमा रहेको एमसीसी अनुमोदन नगरेर अमेरिकासँग सम्बन्ध बिगार्नतिर लाग्न नहुने महतले बताए ।

‘अमेरिका जस्तो शक्तिशाली देशले दिएको सहयोग लिनुपर्छ । यो राष्ट्रको हितमा छ । राष्ट्रको हित बिपरीत हामीले निर्णय गर्नु हुँदैन’, संसदीय दलको बैठकबाट बाहिरिएपछि पत्रकारहरुसँग कुरा गर्दै महतले भने ।

पूर्वअर्थमन्त्री महतले एमसीसीले दिएको समय, १६ फागुनभित्रै अनुमोदन गराउनुपर्ने बताए । ‘दिएको सहयोग लिएन भनेर अमेरिकासँग सम्बन्ध बिग्रन सक्छ’ महतले भने, ‘साथसाथै नेपाललाई सबैभन्दा बढी विश्वास गर्ने मुलुकसँग सम्बन्ध बिगार्ने काम बिल्कुलै गर्नु हुँदैन ।’

एमसीसी पारित हुँदा चीनले दुःख पाउनुपर्ने कुरा नभएको उनले बताए । बैठकमा नेता महतले एमसीसी इन्डो प्यासेफिक रणनीति अन्तर्गत नभई विशुद्ध विकास परियोजना भएको बताएका थिए । तर अहिले जनमानसमा एमसीसीबारे अनेक भ्रम परेको भन्दै उनले ती भ्रमहरु चिर्न कांग्रेस सांसदहरुलाई आग्रह गरेका थिए ।