दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अत्याधुनिक उपकरणसहितको स्वास्थ्य सेवा विस्तारलाई तिव्रता दिएको छ। आइतबार दाङका सञ्चारकर्मीहरूसँग अन्तरकृया कार्यक्रम गर्दै प्रतिष्ठानले आफ्नो सेवा प्रवाहको बारेमा जानकारी दिएको हो।
प्रतिष्ठानमा विगत १० महिनादेखि कुल ६८ हजार ७ सय २० जनाले स्वास्थ्य सेवा लिएको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले जानकारी दिनुभयो। उहाँले विगतको तुलनामा प्रतिष्ठानको सेवा निकै विस्तार गरिएको जानकारी समेत दिनुभयो।
प्रतिष्ठानमा आइसीयु र सिटिस्क्यान लगायतका मेसिनसहित अत्याधुनिक उपकरणहरू थपिनुका साथै विभिन्न विषयका विशेषज्ञ चिकित्सक, मेडिकल अफिसरहरू कार्यरत रहेको उहाँले बताउनु भयो ।
पछिल्लो समय प्रदान गरेको सेवासँगै आगामी दिनमा थप्न लागेको स्वास्थ्य सेवाको बारेमा जानकारी गराउँदै रजिस्ट्रार थापाले आम नागरिकले प्रभावकारी स्वास्थ्य सेवा लिन सक्ने बताउनु भयो । प्रतिष्ठानले ज्येष्ठ नागरिक मैत्री उपचारात्मक स्वास्थ्य सेवा प्रदान गर्न १० शैयाको जेरियाट्रिक वार्ड एक महिना भित्र सञ्चालनमा आउने रजिष्ट्रार थापाले बताउनु भयो ।
निर्माणको अन्तिम चरणमा रहेको ५० शैयाको नयाँ बहुउद्देश्यीय भवनबाट १५ दिन भित्र आपतकालीन सेवा उपलब्ध हुने भएको छ। उक्त नयाँ भवनबाट असारको पहिलो हप्तादेखि रेडियोलोजी सेवा, विशेषज्ञसहितको एमआरआइ सेवा समेत सञ्चालनमा आउने प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानमा नयाँ नेतृत्व आएसँगै आमा सुरक्षा कार्यक्रम अन्तर्गत निशुल्क प्रसूति सेवा पुनः सञ्चालनमा ल्याइएको छ। विभिन्न कारणले बन्द गरिएको प्रसूति सेवा वैशाख १ गते देखि पुनः सञ्चालनमा आइसकेको रजिष्ट्रार थापाले बताउनु भयो ।
प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले प्रतिष्ठानमा सबै खालका स्वास्थ्य सेवाको स्तर बढाउदै लगेको वताउनुभयो । बैशाख १ गतेबाट २४ सै घण्टा निशुल्क प्रसूति सेवा, मेसिन थप गरि डाईलाईसिस सेवा, सिकलसेल एनिमियाको सेवा, सामाजिक सुरक्षा सेवालगायत थुप्रै विशेषज्ञ सेवा विस्तार भएको उहाँले जानकारी दिनु भयो । सबैको सामूहिक पहलमा प्रतिष्ठानलाई राम्रो बनाउन सकिने भन्दै उहाँले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने विचार व्यक्त गर्नु भयो ।
आगामी दिनमा मेडिकल स्वास्थ्यलाई अझ विशिष्टिकृत गर्दै लैजान सिंगो अस्पताल प्रशासन, मेडिकल टोलीले विशेषज्ञसहितको सहज स्वास्थ्य सेवा प्रदान गर्न अघि बढेको उहाँले बताउनु भयो । सो अवसरमा प्रतिष्ठानका शिक्षाध्यक्ष तथा प्रसुति रोग विशेषज्ञ वसन्त लामिछाने, अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेत,मेडिकल डाइरेक्टर डा. रमेश कडेल लगायतकाले बिरामीमैत्री सेवा प्रवाहका लागि आफुहरु लागि परेको बताउनु भयो।



