लाइसेन्स छपाइमा चरम ढिलाइ: १२ लाख लक्ष्य, तर ५ महिनामा मात्र २८ हजार छापियो

लाइसेन्स छपाइमा चरम ढिलाइ: १२ लाख लक्ष्य, तर ५ महिनामा मात्र २८ हजार छापियो

काठमाडौँ । स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइमा गम्भीर ढिलाइ देखिएको छ । ६ महिनाभित्र १२ लाख लाइसेन्स छाप्ने सम्झौता भए पनि पाँच महिनामा जम्मा २८ हजार थान मात्र छापिएको छ ।

यातायात व्यवस्था विभागका अनुसार सुरक्षण मुद्रण केन्द्रले छापेका २८ हजार लाइसेन्स विभागलाई हस्तान्तरण गरिसकेको छ । तर अझै करिब २८ लाख लाइसेन्स छाप्न बाँकी रहेको छ, जसका कारण सेवाग्राहीहरू वर्षौँदेखि ‘ट्रायल पास’को रसिद बोकेर हिँड्न बाध्य भएका छन् ।

भदौ २३–२४ मा भएको ‘जेनजी’ आन्दोलनका क्रममा मीनभवनस्थित विभागमा आगजनी हुँदा पुराना प्रिन्टर, सर्भर र उपकरणहरू नष्ट भएपछि लाइसेन्स छपाइको जिम्मा सुरक्षण मुद्रण केन्द्रलाई दिइएको थियो । त्यसपछि गत कात्तिक १२ गतेदेखि छपाइ सुरु गरिएको थियो ।

सुरक्षण मुद्रण केन्द्रले सुरुमा तीन महिनामा ३ लाख र बाँकी तीन महिनामा ९ लाख गरी १२ लाख लाइसेन्स छाप्ने लक्ष्य राखेको थियो । तर कच्चा पदार्थको अभाव, अन्तर्राष्ट्रिय खरिद प्रक्रिया र प्राविधिक तयारीमा ढिलाइका कारण लक्ष्यअनुसार काम हुन सकेन ।

हाल केन्द्रले छपाइलाई तीव्र बनाएको दाबी गर्दै दैनिक २५ हजारदेखि ५० हजारसम्म कार्ड छाप्ने तयारी गरेको जनाएको छ । पछिल्ला दिनहरूमा मात्र १ लाख १७ हजार लाइसेन्स छापिएको र छिट्टै विभागलाई हस्तान्तरण गरिने बताइएको छ ।

यातायात व्यवस्था विभागका अनुसार हालसम्म २ लाख लाइसेन्सको डेटा केन्द्रलाई पठाइसकिएको छ भने थप ४ लाख डेटा तयारी अवस्थामा छ । अब आवश्यक परे तुरुन्त डेटा उपलब्ध गराउन सकिने जनाइएको छ ।

सम्झौताअनुसार वैशाख १२ गतेभित्र १२ लाख लाइसेन्स छापिसक्ने लक्ष्य रहेको छ । त्यसपछि विगत ३–४ वर्षदेखि थुप्रिएको करिब १२–१३ लाख ‘ब्याकलग’ लाइसेन्स पनि तीन महिनाभित्र छाप्ने योजना बनाइएको छ ।

लाइसेन्स छपाइमा भएको ढिलाइले सर्वसाधारणलाई ठूलो सास्ती भोग्नुपरेको छ भने सरकारले तोकेको लक्ष्य पूरा हुने वा नहुने भन्नेमा समेत प्रश्न उठ्न थालेको छ ।