रोल्पा। गंगादेव गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष हरि पुनले दश वर्षे जनयुद्धको क्रममा ज्यान गुमाएका शहीदहरूलाई ‘मसान – भूतप्रेत’ को संज्ञा दिएपछि उनको चौतर्फी विरोध भएको छ। शुक्रबार रोल्पाको एक रेडियोका लागि अन्तर्वार्ता दिनेक्रममा उनले शहीदहरूको अपमान हुनेगरि यस्तो शब्द प्रयोग गरेका हुन्।
अन्तर्वार्ताको क्रममा उनले हाल नामाङ्कित गाउँपालिकाको नाम ‘गंगादेव’ राखेको प्रति आफ्नो पार्टीको असहमति रहेको प्रसङ्ग निकाल्दै परिवर्तनका खातिर ज्यान गुमाउने हजारौं शहीदहरूको अपमान हुने गरी उक्त अभिव्यक्ति दिएका छन् ।
उनै शहीदहरूको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त भएको व्यवस्थामा गाउँपालिकाको अध्यक्ष बन्ने र उनै शहीदहरूको अपमान गर्ने व्यक्ति पदमा बसिरहन नैतिक अधिकार नरहेको भन्दै सामाजिक सञ्जालमा उनको चर्को विरोध सुरु भएको छ। अध्यक्ष पुनले कुर्सीको मर्यादा राख्न नसकेको धेरैको टिप्पणी रहेको छ।
अध्यक्ष हरि पुनको अभिव्यक्तिलाई टिप्पणी गर्दै समिर श्री लेख्छन्, ‘शहीद पार्टीका मात्र नभई राष्ट्रले साझा रुपमा दिएको पदवी हो । गंगादेव गाउँपालिका प्रमुखले शहीद ‘मसान, भूतप्रेत’ हुन् भन्ने जुन प्रकारको अभिव्यक्तिले दिनुभएको छ अत्यन्तै निन्दनीय छ।’ उनले यस विषमै थप्दै लेखेका छन्, ‘ २१ औं शताब्दीमा ‘भूत र मसान’ भन्नेले भोलि कोही महिलालाई ‘बोक्सी’ को आरोप लगाउन सक्छन् । शहीद राज्यका सम्पत्ति हुन् , अपमान गर्ने कुनै पनि पार्टीका नव राजालाई अधिकार छैन् ।’
हरि पुनले आफ्नो चुनावी प्रचार प्रसारको क्रममा समेत वैशाख ३० गते मसानलाई तोप्नु पर्छ भन्ने खालका विभिन्न आपत्तिजनक अभिव्यक्ति दिंदै आएका थिए । हाल उनको उक्त अभिव्यक्तिको समेत विरोध हुँदै आएको छ।
अध्यक्ष पुन नेपाली कंग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका सहोदर भाइ हुन्। उनि नेपाली कंग्रेस रोल्पा जिल्ला कार्यसमितिका उपसभापतिको जिम्मेवारी सम्हालिरहेका थिए ।
अध्यक्ष पुन हालै सम्पन्न चुनावमा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रोशन वली भन्दा ५८ मत बढी लिएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । गंगादेव गाउँपालिकाको नाम यस अघि सुकिदह गाउँपालिका रहेको थियो। पछि यस गाउँपालिकाको नाम देश र जनताका लागि वलिदान गर्ने शहिद गंगा र देव को नाम बाट नामाकरण गरिएको थियो ।



