काठमाडौँ । नेपाली सेनाबाट संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा माइन प्रोटेक्टेड भेहिकल (एमपीभी) चालकको रुपमा रुद्राक्षी कार्की जाने भएकी छन् । द्वन्द्वग्रस्त मुलुकहरूमा अति आवश्यक सैन्य सामग्रीहरू बोकेर अघि बढ्न प्रयोग गरिने उक्त सवारी साधन चलाउने कार्की पहिलो नेपाली महिला सैनिक पनि हुन् ।
सैनिक परिवहन गणकी सिपाही कार्की नेपाली सेनाबाट शान्ति मिसनमा सहभागी हुने पहिलो महिला सैनिक एमपीभी चालक भएको नेपाली सेनाले जनाएको छ ।
‘उहाँ युनिफिल मिसन लेवनानमा तैनाथ हुन जाने शान्ति सेनाको ६४ औं डफ्फामा एमपीभी सवारी चालकको रुपमा छनोट हुनुभएको हो,’ सैनिक प्रवक्ता नारायण सिल्वालले भने ।
सैनिक कार्की गोरखा जिल्ला आँप पीपल गाउँपालिका–५ आगेटारीमा २०५० सालमा जन्मेकी हुन् । उनले जनता उच्च माध्यमिक विद्यालय गोरखाबाट २०६५ सालमा एसएलसी अध्ययन पूरा गरी २०६९ असार १५ गते नेपाली सेनामा प्रवेश गरेकी हुन् ।
सिपाही कार्की सैन्य तालिम केन्द्र त्रिशुलीमा सैन्य आधार तालिम सम्पन्न गरी सैनिक परिवहन गणमा नियुक्त भएको सेनाले जनाएको छ ।



