काठमाडौँ । काठमाडौं महानगरपालिकाले कोटेश्वरमा अवैधानिक तरिकाले सडक अतिक्रमण गरेर सञ्चालन गरिएका पसलहरू हटाउने तयारी गरेको छ । बानेश्वर, न्युरोड, दरबारमार्ग क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना हटाउँदै गरेको महानगरले बिहीबारदेखि कोटेश्वरमा अनधिकृत रुपमा रहेका संरचना भत्काउने भएको हो ।
मेयर बालेन्द्र शाहसहितको टोलीले बुधबार न्युरोडको काठमाडौं प्लाजा, आर बी कम्प्लेक्समा निर्माण गरिएका अनधिकृत संरचना हटाएको थियो । यस्तै दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिजमा लिएर निर्माण गरिएको वान दरबार मलमा पनि अनधिकृत रुपमा संरचना बनाएको पाइएको छ । सो मलको बेसमेन्टमा रेस्टुरेन्ट तथा अन्य पसलहरू सञ्चालन भएको पाएपछि महानगरको टोलीले हटाउन निर्देशन दिएको थियो।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अवैधानिक तरिकाले बनाइएका संरचना र एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएको पाइएपछि हटाउन थालिएको बताए ।
उनले कान्तिपुरिसत भने, ‘हामीले ३५ दिने सूचना निकालेका छौं । कमिटमेन्ट अनुसारको नक्सा पास गरेको नक्सा छ अनि अर्को प्रयोजनका लागि प्रयोग गर्न मिलेन नि !’ पाण्डेले यस्ता संरचनामा घरधनीहरूको गल्ती धेरै देखिएको बताए ।
‘पार्किङ गर्छु भनेर स्पेससहितको नक्सा पास गरेको छ अनि होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न दिएको छ,’ पाण्डेले भने,’ बेसमेन्ट पार्किङ भएका संरचनालाई महानगरले धेरै छुट सुविधा ल्याएको छ । छुट पनि लिने अनि अर्को प्रयोजनका लागि पनि प्रयोग गर्न दिने शैली ठिक भएन नि ।’
यस्तै महानगरपालिकाले ३५ दिने सूचना निकालिसकेको र जुनसुकै बेला अनधिकृत संरचनाहरू हटाउन सक्ने भन्दै नियम पालना गर्न सबैलाई आग्रह गरेको छ ।
कोटेश्वरमा बिहीबारदेखि हटाउन थालिने पाण्डेले जानकारी दिए । बुधबार अबेर भएपछि टोलीले सूचना गरेर फर्किएको थियो । ‘आज हामीले सम्झाइ बुझाइ मात्रै गरेका हौं,’ पाण्डेले भने,’थोरै समय भएकाले हामी फर्कियौं । भोलिबाट हटाउँछौं । ‘
कोटेश्वरमा सडकको पेटी नै च्यापेर पसल सञ्चालन भइरहेको पाइएपछि महानगरले त्यस क्षेत्रमा पनि संरचना भत्काउने तयारी गरेको हो । प्रहरी चौकीबाट उत्तरतर्फ छिर्ने गल्ली अतिक्रमण गरेर सञ्चालन गरिएका सबै पसलहरू हटाउने नगर प्रहरी प्रमुख पाण्डेले जानकारी दिए । उनले अनधिकृत संरचना हटाउनका लागि स्थानीयको उत्साहजनक सहयोग रहेको र संरचना हटाउनका लागि स्थानीय जनतालाई लिएर जाने गरिएको बताए ।
महानगरपालिका अनुसार पार्किङका लागि भनेर अनुमति लिएका र अन्य प्रयोजनमा प्रयोग भएका बेसमेन्टको संख्या ३ सय हाराहारीमा छन् । ती सबै बेसमेन्ट जुनसुकै बेला टोलीले खाली गर्न सक्ने पाण्डेले बताए।



