चितवन । अर्थमन्त्री जनार्दन शर्माले एमसीसीबारे पाँच दलीय गठबन्धनले निर्णय गर्ने बताउनुभएको छ । आज आइतवार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले गठबन्धनको सरकार भएकाले उसैको निर्णयअनुसार चल्ने बताउनुभएको हो ।
मन्त्री शर्माले भन्नुभयो, ‘यसबारे गठबन्धनभित्र छलफल भइरहेको छ । सरकारमा पनि छलफल जारी छ ।’ देशको विकास, प्रगति, संविधानको रक्षा र कार्यान्वयनका लागि अहिलेको सरकार बनेको भन्दै उहाँले हरेक निर्णय गठबन्धनबाटै हुने बताउनुभयो ।
अर्थमन्त्री शर्माले विदेशी लगानी, विकास निर्माण र कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागिरहेको छ भन्नुभयो ।
फरक प्रसङ्गमा बोल्दै उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सरकार सकारात्मक रहेको बताउनुभयो । धुर्मुस–सुन्तली फाउन्डेशनले साहसिक कदम अघि बढाएको भन्दै उहाँले सरकारले यसमा कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘थोरै लगानीमा पनि खेल खेलाउन सक्ने स्थितिमा पुगेको बुझेको छु । मैले उहाँहरूलाई निराश नहुनुस् र अघि बढ्नुस् भनेको छु ।’



