काठमाडौं । एक भारतीय गर्भवती पर्यटकको उपचारको क्रममा मृत्यु भएपछि पोर्चुगलकी स्वास्थ्यमन्त्री मार्टा टेमिडोले राजीनामा दिएकी छन् । रोयटर्सका अनुसार लिसबनको स्याण्टा मारिया अस्पतालमा शिशु सेवा उपलब्ध नहुँदा ३४ वर्षीया ती गर्भवतीको मृत्यु भएको थियो ।
एम्बुलेन्समार्फत अर्को अस्पताल लैजाँदै गर्दा ‘कार्डियाक अरेस्ट’ का कारण उनको मृत्यु भएको बताइएको छ । आकस्मिक शल्यक्रियाबाट चिकित्सकले शिशुलाई भने जन्म दिएका छन् । हालैमात्र अस्पताल सार्ने क्रममा दुई सुत्केरी महिला र नवजात शिशुको पनि मृत्यु भएपछि राज्य संयन्त्रमाथि प्रश्न उठ्दै आएको थियो ।
उनको मृत्युको तिन घण्टाभित्रै टेमिडोले राजीनामा घोषणा गरेकी हुन् । प्रधानमन्त्री एन्टोनियो कोस्टाले उनको राजीनामा स्वीकृत गरिसकेका छन् ।
टेमिडोलाई कोरोना महामारीमा कुशलतापूर्वक खोप व्यवस्थापन गरेको श्रेय दिने गरिन्छ । डाक्टरको अभावले प्रसूति सेवा केही समय स्थगित गर्ने निर्णय गरेपछि भने केही समयदेखि उनी आलोचित छिन् ।



