काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह ले डेंगी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरू गरिएको बताएका छन्। मेयर शाहले सामाजिक सञ्जालमा लेख्दै डेंगी भएको शङ्का लागे ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने बताएका छन्। साथै सङ्क्रमितले आवश्यक पर्दा १०२ मा फोन गरेर एम्बुलेन्स सेवा लिन सकिने पनि बताएका छन्।
उनले लेखेका छन्,’डेङ्गु जसरी समूदायमा फैलाएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको कुरा हामी सबैले अनुभव गरेको कुरा हो। यसका लागि महानगर पहिलेदेखि नै महानगरस्तरमा सक्रिय रहेको जानकारी गराउँदछौँ। भइरहेका कार्यक्रमहरुलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरु पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग गरिरहेका छौँ।
डेङ्गु संक्रमितहरुका लागि आजबाट २४ घण्टे हटलाइन सुरु गरेका छौँ । संक्रमित भए वा भएको शंका लागेमा तपाईले १०२ मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सक्नु हुनेछ। त्यस्तै आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्नु हुनेछ।
यो सँगै डेङ्गु विरुद्धमा टोल टोल वा सामूदायीकरुपमा नै सक्रिय भएर लाग्न पनि हामी हार्दिक अपिल गर्दछौँ।’




