नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरूले विश्वास गुमाउँदै गइरहेका बताएका छन् । बिहीवार अखिल नेपाल महिला संघ (समाजवादी) ले दशैँ, तिहारलगायतका चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति व्याप्त रहेको बताए ।
अध्यक्ष नेपालले नेताहरूले विश्वास गुमाउँदै गइरहेको कुराले आफूलाई चिन्तित बनाएको पनि बताए । उनले आफ्नो व्यवहार र उदाहरणबाट आफूलाई उत्कृष्ट सावित गरेर अरुको मन जित्न सक्नुपर्ने बताए । उनले देशको कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने बारेमा आफूले सोचिरहेको बताए ।
‘यो कम्युनिष्ट पार्टीलाई व्यवस्थित रुपमा अगाडी बढाएर लिएर जाने जिम्मेवारी हामीले बोक्नुपर्दछ । र हामीले सोचिरहेका छौँ कि, कसरी यो देशको सिंगो कम्युनिष्ट आन्दोलनलाई जोगाउन सकियोस् । बलियो बनाउन सकियोस् । असल कार्यकर्ताहरु तयार गर्न सकियोस् ।
समाजका परिवर्तनका बाहकहरुलाई, इमान्दार मानिसहरुलाई, स्वच्छ छवि भएका व्यक्तिहरुलाई अगाडि बढाउन सकियोस्’, उनले भने, ‘हामी नै सबै हिसावले अगुवा हुन सकेनौँ भने हामीले बोलेको कुराको कुनै अर्थ हुँदैन । अहिले पनि समाजमा, राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति व्याप्त छ । यो भ्रष्टाचारको प्रवृत्तिले गर्दा नेताहरुले विश्वास गुमाउँदै गइरहेका छन् । त्यो विश्वास गुमिरहेको कुराले हामीलाई चिन्तित बनाएको छ ।’



