जोशीको शरीर श्रद्धाञ्जलिलाई किष्टमा राखियो, श्रद्धाञ्जलीपछि अस्पताललाई नै हस्तान्तरण गरिने

जोशीको शरीर श्रद्धाञ्जलिलाई किष्टमा राखियो,  श्रद्धाञ्जलीपछि अस्पताललाई नै हस्तान्तरण गरिने

शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुर इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा श्रद्धाञ्जलिका लागि राखिएको छ । सो अस्पतालमा उपचाररत बिरामीको मृत्युपछि अस्पतालको तर्फबाट गरिने प्रशासनिक तथा कानुनी प्रक्रिया पूरा भएपछि करिब १२ बजेसम्म जोशीको पार्थिव शरीर अस्पताल परिसरमा राखिने अस्पतालले जनाएको छ ।

जोशीको इच्छा अनुसार नै उनको पार्थिव शरीर अस्पताललाई दिइने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिएका छन् । उनका अनुसार जोशीको शरीरलाई साढे ११ बजे देखि १२ बजेसम्म अस्पताल प्रांगणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । परिवारले अस्पतालको शय्यामा नै श्रद्धाञ्जली प्रकट गरेर हिन्दु संस्कारका केही विधि प्रक्रिया पूरा गरेपछि उनको पार्थिव शरिर आम मानिसका लागि श्रद्धाञ्जली दिनका लागि राखिने छ ।

यस्तै, १२ बजे उनको शरीरलाई ललितपुर महानगरपालिकामा लगिने र त्यहाँ ४ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने भएको छ । उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका अन्य विशिष्ठ व्यक्ति समेत जाने बताइएको छ । उनको शरीर अन्तिममा आइतबार नै अस्पताललाई हस्तान्तरण गरिने मेयर महर्जनले जानकारी दिए ।

उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना भएका शताब्दी पुरुष जोशीको आज बिहान एक सय तीन वर्षको उमेरमा निधन भएको हो । अस्पतालबाट आवश्यक प्रक्रिया पूरा गरी दिउँसो १२ बजेपछि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा अपराह्न ४ बजेसम्म श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीर राखिने प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित विशिष्ट पदाधिकारीले ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा पुगेर श्रद्धाञ्जलि दिने कार्यक्रम छ । सर्वसाधारणले सोही स्थानमा श्रद्धाञ्जलि दिनेछन् । शताब्दी पुरुष जोशीले यसअघि नै अध्ययन अनुसन्धानका लागि आफ्नो पार्थिव शरीर किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई दान दिने घोषणा गरेका थिए