मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 6 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

भोट हाल्न जाँदा मोबाइल र क्यामेरा लगे जफत गरिने

Himali Patrika 1 मिनेट पढाइ

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका दिन भोट दिन जाँदा मोबाइल, सलाई, लाइटर, क्यामेरालगायत लैजान नपाइने बताएको छ।मतदान केन्द्रभित्र मोबाइललगायत सामग्री साथै लिएर जान नपाइने आयोगले बताएको हो।

आयोगले मतदाताहरूलाई मोबाइललगायत सामग्री लिएर मतदान केन्द्रमा नआउन भनेको छ। आयोगले निर्वाचन अधिकृतलाई मोबाइल लगायत सामग्री लिएर आउन मतदाताले नपाउनेबारे सूचित गर्न भनेको छ।

‘मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई सार्वजनिक आह्वान र अनुरोध गर्ने,’ आयोगले भनेको छ।

मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानून बमोजिम तत्काल कारबाही गर्ने र सलाई, लाइटर, क्यामरा, मोबाइलजस्ता वस्तु लिई आएमा मतदान केन्द्रको प्रवेश विन्दुमा राख्ने व्यवस्था मिलाउने पनि आयोगले मतदान अधिकृतलाई निर्देशन दिएको छ।

साथै कसैले फोटो खिच्ने क्यामरा वा मोबाइल साथमा लगेर मत संकेत गर्ने स्थानमा गएमा तत्काल त्यस्तो क्यामरा वा मोबाइल जफत हुने पनि आयोगले बताएको छ। निर्वाचन आचारसंहिता २०७९ विपरीत कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सुरक्षाकर्मीले कारबाही गर्न पाउनेछन्। आयोगले आफ्नो परिचय खुल्ने मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र, सवारी लाइसेन्सलगायत भने बोक्न पाउने बताएको छ। मतदाता नामावलीमा नाम हुनेहरूले यी कागजपत्र देखाएर मतदान गर्न पाउनेछन्।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।