प्रचण्ड सहभागी हुने भनिएको कार्यक्रमस्थल नजिकै बम विस्फोट

प्रचण्ड सहभागी हुने भनिएको कार्यक्रमस्थल नजिकै बम विस्फोट

काठमाडौँ ।  भोजपुरको तिवारी भञ्ज्याङमा सत्ता गठबन्धनको चुनावी सभा नजिकै बम विस्फोट भएको छ । नेकपा माओ‌वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुने भनिएको उक्त सभास्थल नजिकै बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक नितेशकुमार सिंहका अनुसार उक्त स्थल पौवादुङ्मा गाउँपालिकामा पर्छ । कार्यक्रममा सहभागी हुनका लागि दिउँसो ३ बजे दाहाल आउने कार्यक्रम तय भएको थियो । इन्सपेक्टर सिंहले इकान्तिपुरसित भने,’३ बजे हेलिकप्टर ल्यान्ड हुने भनिएको थियो, अहिलेसम्म आएको छैन । ‘

भोजपुरका डीएसपी शरदकुमार थापा नेतृत्वको टोली घटनास्थलमा रहेको छ । त्यहाँको स्थिति बुझेर अनुसन्धान गरिरहेको प्रहीले जनाएको छ । बम कसले बिस्फोट गराएको भन्ने खुलिसकेको छैन ।

यता नेकपा माओवादी केन्द्रका प्रस्तावित पोलिटब्यूरो सदस्य सुदन किरातीले नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपालाई प्रयोग गरेर एमालेले बम विस्फोट गराएको प्रतिक्रिया दिएका छन् ।

‘हामीले तिवारी भन्ज्याङमा चुनावी सभा राखेका छौं । कार्यक्रम नजिक एक जना भाइले बोकेको बम विस्फोट भयो । विचरा भाइ अहिले घाइते भएपछि प्रहरीले पक्राउ गरिसक्यो’ किरातीले भने,‘चुनावमा हार्ने भएपछि एमालेले जहिलै यस्तै यस्तै घटना घटाउँछ । त्यस्ता क्रियाकलापको घोर भर्त्सना गर्दछु ।’

अहिले भोजपुरको तिवारी भन्ज्याङ प्रचण्डसहित गठबन्धनका शीर्ष नेताले सम्बोधन गरी रहेका छन् । भोजपुरबाट किराँती गठबन्धनबाट उम्मेदवार भएपछि एमालेका शेरधन राईबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।​