मुख्य सामग्रीमा जानुहोस्
Sunday, 13 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

नागरिकताका विषयमा रवि लामिछानेलाई आयोगले सोध्यो स्पष्टीकरण, रविले दिए यस्तो प्रतिक्रिया

Himali Patrika 1 मिनेट पढाइ

३० कात्तिक, चितवन । चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई जिल्ला निर्वाचन कार्यालय चितवनले स्पष्टीकरण सोधेको छ । लामिछानेले पहिले विदेशी नागरिकता लिएका कारण नेपाली नागरिकता कायम नरहेको भन्दै दुई जनाले आयोगमा उजुरी दिएका थिए । सोही उजुरीका विषयमा लामिछानेलाई ७ दिनभित्र जवाफ पठाउन पत्र दिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

आयोगले ‘नागरिकताको विषयमा तपाईंमाथि परेको उजुरीका आधारमा उम्मेदवारी खारेज किन नगर्ने’ भनी सोधेको छ । सो स्पष्टीकरण लामिछानेको सचिवालयले बुझेको थापाले बताए ।

लामिछानेलाई सोधिएको स्पष्टीकरणमा उजुरी र उजुरीकर्ताले दिएका केही प्रमाणसमेत संलग्न गरी पठाएको उनले जानकारी दिए । लामिछानेले निर्वाचन आयोगमा दल दर्ता गर्दा र उम्मेदवारी दर्ता गर्दा अमेरिकी नागरिकता लिएपछि खारेज भएको नेपाली नागरिकता पेश गरेको दावी उजुरीमा छ । उनले पुनः नागरिकता कायम गराउन आवश्यक प्रक्रिया पूरा नगरेको उजुरीमा उल्लेख छ । मुख्य निर्वाचन अधिकृत थापाका अनुसार लामिछानेले एक सातामा जवाफ पठाउनुपर्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन-२ का उम्मेदवार रवि लामिछानेले आफ्नो उम्मेदवारी खारेज भए पनि केही फरक नपर्ने बताएका छन् । ‘मेरो उम्मेदवारी खारेज गरुन् केही छैन,’ उनले भने, ‘म चुनावमा नउठ्दा पनि तपाईंहरुको घरघरमा गएर सेवा गरेको मान्छे हुँ । अब पनि त्यसरी नै सेवा गर्छु । जनताको सेवा गर्ने मेरो इच्छालाई कसैले रोक्न सक्दैन ।’

बुधबार साँझ कावासोतीमा आयोजित चुनावीसभामा बोल्दै उनले भने, ‘सांसद भएँ भने नीति निर्माण तहमा रहेर काम गर्ने धोको हो, मलाई जनताको सेवा गर्नबाट रोक्ने ताकत कसैमा छैन ।’

भ्रष्टाचार जरैदेखि उखेल्न आफू राजनीतिमार्फत समाजसेवामा आएको उनले सुनाए । चुनावपछि आफ्नो पार्टीका उम्मेदवारले घरघरमा गएर जनताको सेवा नगरे आफूले सांसदबाट फिर्ता बोलाउन सक्ने विधान पार्टीले लागू गरेको उनले बताए । ३० वर्षसम्म सत्ताको बागडोर सम्हालेका नेताहरुले देश लुट्ने र जनतालाई ढाँट्ने कामबाहेक केही नगरेको उनले दाबी गरे । ‘पटक-पटक संसद्‌मा गएकाहरुले के गरे ?,’ उनले प्रश्न गरे, ‘त्यही सम्झेर यो पटक घण्टीमा भोट हाल्नुस् ।’

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।