बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनी प्रदेशको स्थायी राजधानी रुपन्देहीको बुटवलमै कायम रहने दाबी गरेका छन् । उनले स्थायी राजधानी तोकिएको क्षेत्र दाङमा राजधानी लैजाँदा नेपाल सरकारको खर्बौं रकम लगाउनुपर्ने भएकाले उक्त निर्णय सच्चाउनुपर्ने बताए ।
बुटवलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री खाँणले राजधानी तोक्ने अधिकार प्रदेशसभाको भएकाले त्यसलाई परिक्षण गर्ने र सच्याउने काम पनि प्रदेशबाटै गर्न आग्रह गरे ।
‘कुनै पूर्वाधार नभएको स्थानमा राजधानी लैजाँदा त्यहाँको पूर्वाधार निर्माण, पानी, सिञ्चाइ, सडक, भवन बनाउँदा नेपाल सरकारको खर्बौं रकम खर्च हुने रहेछ,’ गृहमन्त्री खाँणले भने, ‘यति धेरै सरकारको रकम खर्च गर्न सकिँदैन । प्रदेशले त्यसलाई परिक्षण गरोस् । निर्णय सच्चाओस् ।’ लुम्बिनी प्रदेशसभाले २०७८ असोज २१ मा दाङको देउखुरीमा स्थायी राजधानी तोकेको थियो ।
गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा बुटवलमा आफ्नो अगुवाइमा अस्थायी राजधानी स्थापना गरेको स्मरण गरेका थिए । उनले भौतिक पूर्वाधार विकास, केन्द्र र हवाइ संजालको सुगमताका कारण राजधानी बुटवलमा राख्ने मात्र होइन सेनाको प्रदेश मुख्यालय पनि स्थापना गरेको भन्दै पूर्वाधार नै नभएको स्थानमा लगेको राजधानीबारे पुर्नविचार हुने दाबी गरे ।
गृहमन्त्री खाँणले प्रदेश सरकारले हतारिएर चुनावको मुखमा यहाँका सामान लोड लगेर दाङ लैजान हतार गरेको भन्दै असन्तुष्टि पोखे । सहमति बिना राजधानी सारिए बाटोबाटै फर्काउने समेत उनले चेतावनी दिए । सबै दल र नेता चुनाव प्रचारमा लागेका बेला प्रदेश सरकारले यताका सामान लोड गरे राजधानी सर्यो भन्दै उता लगेको छ रे,’ रुपन्देहीका जनतालाई थाह नदिइ कसैले राजधानी सार्छ भने बाटैबाट त्यो राजधानी सारेर फिर्ता ल्याइने छ । ’ उनले भने ।
गृहमन्त्री खाँणले एमाले र माओवादीप्रति व्यंग गर्दै ‘हाम्लाई जिताउनुस् बुटवलमा राजधानी बनाउछौं’ भन्ने नेताहरूले जितेर बुटवल होइन राजधानी अन्तै लगेको बताए । आफ्नो क्षेत्रको राजधानी अन्यत्र बुझाउने नेताहरू नै पुन चुनावी मैदानमा आउनु अस्वभाविक भएको उनको भनाइ थियो ।
गृहमन्त्री खाँणले देशको मध्यभागमा रहेको रुपन्देही विकासको ठूलो सम्भावनाको बोकेको जिल्ला भएको भन्दै विकासको आधार खडा गर्न दलहरू मिलेर अगाडि बढ्नुपर्ने बताए । बुद्धजन्मस्थल लुम्बिनीको महत्त्व विश्वभर बढाउन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल बनाएको भन्दै यसलाई पूर्णरुपमा संचालन गर्ने योजना बनाएको बताए ।
विकासलाई रुपन्देही केन्द्रित गरेको भन्दै यहाँको विकास देशकै विकासको आधार रहेको पनि उनको भनाइ थियो । ‘पाँच दलीय गठबन्धनले जे बोल्छ उही गर्छ । हामीले छलछाम गर्दैनौं । प्रतिपक्षीले दिग्भ्रमीत सन्देश प्रवाह गरेकोले त्यसलाई विश्वास नगर्नुस्,’ उनले भने ।





