मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

१४ वर्षपछि पाकिस्तानलाई हराउँदा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं : अञ्जन विष्टको निर्णायक गोलप्रेरित नेपालले १४ वर्षपछि पाकिस्तानलाई पराजित गरेको छ। दशरथ रंगशालामा तीन वर्ष फिफाको प्रतिबन्धपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानलाई १-० ले पराजित गर्दा नेपालका लागि ८३औं मिनेटमा अञ्जनले गरेको एक मात्र गोल निर्णायक बन्यो। अञ्जनले नेपालबाट गरेको यो ११औं गोल हो।

सर्वकालीन सर्वाधिक गोलकर्ताको सूचीमा बराबरी गर्न अब अञ्जनलाई दुई गोल मात्रै आवश्यक हुनेछ। सर्वाधिक १३ गोलको कीर्तिमान हरि खड्का र निराजन रायमाझीको नाममा छ।

रंगशालामा खेलेको ५०औं खेलमा नेपालले सन् २००८ पछि पहिलो पटक पाकिस्तानविरुद्ध जित निकाल्न सफल भयो। त्यसयता भएका पाँचमध्ये तीन खेलमा पराजित नेपालले दुई खेल बराबरीमा टुङ्ग्याएको थियो।

पाकिस्तानविरुद्ध खेलेका १७ खेलमा नेपालको यो सातौं जित हो। त्यसबाहेक पाँच खेलमा बराबरी तथा पाँच खेलमा बराबरीको इतिहास छ। तेस्रो पक्षको हस्तक्षेपका कारण तीन वर्ष प्रतिबन्धमा परेको पाकिस्तानले अन्तिम खेल २०१९ मा खेलेको थियो।

सन् २०१९ मा कतारको दोहामा प्यालेस्टाइनविरुद्ध १-२ ले पराजित भएपछि पाकिस्तान अन्तर्राष्ट्रिय मञ्चमा अनुपस्थित थियो। तर, गत जुनमा प्रतिबन्धबाट फुकुवा भएपछि पाकिस्तानको यो पहिलो खेल हो।

सन् २०१८ मा बंगलादेशको ढाकामा साफ च्याम्पियनसिपमा नेपाल र पाकिस्तानको अन्तिम भेट भएको थियो। जुन खेलमा पाकिस्तानले २-१ को जित निकाल्दा नेपालका लागि विमल घर्ती मगरले एक गोल गरेका थिए।

बुधबार रंगशालामा नेपालका लागि ४० सेकेन्ड नबित्दै फरवार्ड विमल घर्तीमगरले मौका पाएका थिए। पाकिस्तानको पेनाल्टी बक्समा प्रहार गर्न ढिलो गर्दा बल नियन्त्रण गुमाउन पुगका थिए। पाकिस्तानले तेस्रो मिनेटमा पाएको कर्नरमा आक्रमण गर्न सकेन।

यस्तै, ११औं मिनेटमा पाकिस्तानले काउन्टर अट्याकमा सुन्दर गोल गर्ने मौका खेर फाल्यो। फाइनल थर्डमा पाकिस्तानी फरवार्डले बल भेट्टाउन नसक्दा नेपाली गोलकिपर दीप कार्कीले सहज बचाउ गरे।

सुरुआती १५ मिनेटसम्म गोलका लागि स्पष्ट मौका नबनेको खेलको १८औं मिनेटमा नेपालले फ्रि-किक पाएको थियो। सोही फ्रि-किकमार्फत बनेको मूभमा अनन्त तामाङले १८ यार्ड बक्स अगाडिबाट गरेको प्रहार बाहिरिँदा नेपालले अग्रता लिने मौका गुमाएको थियो।

त्यसको दुई मिनेट नबित्दै अञ्जनले मैदानको करिबबीच भागबाट गरेको प्रहार बाहिरिएको थियो। भ्रमणकारी पाकिस्तानविरुद्ध निरन्तर आक्रमणका मौका बनाएको नेपालका लागि दिनेश राजवंशीले प्रहार गरेको कर्नरमा अनन्तको शक्तिशाली हेडर पाकिस्तानी डिफेन्डरले ब्लक गरेका थिए।

पाकिस्तानका लागि पहिलो हाफको इन्जुरी सममा अब्दुल्लाह इकबलले गरेको प्रहार बाहिरिएको थियो। निर्धारित ९० मिनेटको खेल सकिन १० मिनेट बाँकी रहँदासम्म नेपाली आक्रमणलाई असफल बनाइराख्न भ्रमणकारी पाकिस्तान सफल भएको थियो। यद्यपि, अन्तिम समयमा सम्हालिन नसक्दा १४ वर्षपछि पराजित हुनुपर्यो।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।