काठमाडौँ । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले रोल्पामा जाँड छानेर आएको भन्दै गरिएको टिप्पणीको प्रतिवाद गरेकी छन् ।सत्ता गठबन्धनले बिहीबार काठमाडौंको कोटेश्वरमा गरेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू जाँड छानेर नभई संघर्षबाट आएको र मुलुकको प्रमुखमध्येको एक सभामुख पद नैतिकता बचाएर इमान्दारीतापूर्वक चलाएको बताइन् ।
‘हिजो पनि म जनतासँगै थिएँ आज पनि सँगै छु र भोलि पनि सँगै हुने बाचा गर्दछु । म विगतमा व्यवस्था परिवर्तनका लागि संघर्षको भट्टिबाट खारिएर अघि बढेको रोल्पाली संघर्षशील चेली हुँ । अहिले म काठमाडौं-२ का लागि थपना उम्मेदवार होइन । देशभरका छोरीहरुका लागि आशाको, विश्वासको, भरोसा र भविष्यको एउटा सपना देख्ने उम्मेदवार हुँ ।’
रोल्पामा जाँड छान्ने ओनसरी भनेर पनि कतिपयले सामाजिक सञ्जालमा टिप्पणी गरेको भन्दै घर्तीले पेटमा बच्चा हुँदा बन्दुक बोकेर हिँडेको अनुभव रहेको बताइन् । ‘निरंकुश राजतन्त्रविरुद्ध व्यवस्था बदल्नका लागि पेटमा बच्चा हुँदा बन्दुक बोकेर हिँडेको अनुभव म सँग छ’, घर्तीले भनिन् । घर्तीले निर्वाचन जितेपछि पनि काठमाडौं-२-को विकासका मुद्दा लिएर मतदाताको घरदैलोमा आउने प्रतिबद्धता जनाइन् । उनले चुनावी घोषणापत्रमार्फत टनेल, स्पोर्ट सिटी, सम्पदा सहरलगायत भिजन अघि सारेको बताइन् ।
केपी ओलीको व्यवस्था सिध्याउने, संविधान सिध्याउने, लोकतन्त्रिक व्यवस्थामा प्राप्त अधिकारमाथि धावा बोल्ने हर्कतका कारण व्यवस्था जोगाउन र अवस्था फेर्न यो गठबन्धन बनेको उनको भनाइ थियो । अबको ५ वर्ष यही गठबन्धनले संघीय सरकार र प्रदेश सरकारको नेतृत्व गर्ने तथा जनतालाई विकास र समृद्धि दिने विश्वास व्यक्त गरिन् । तथ्यहरुले केपी ओलीको राष्ट्रवाद खोक्रो राष्ट्रवाद भन्दै घर्तीले बाहिर चुच्चे नक्साको हल्ला गरेर भित्रभित्रै रअ प्रमुखसँग बालुवाटारमा मध्यरातमा मन्त्रणा गर्ने र चुच्चे नक्सासहितको पाठ्यक्रम छाप्न रोक लगाउने काम ओलीले गरेको बताइन् ।





