राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरे मतदान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरे मतदान

४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश सभा सदस्यको मतपत्रमा स्वस्तिक छाप नलगाई मत खसालेका छन् । उनले आज बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मत खसाले तर प्रत्यक्ष र समानुपातिक दुवैमा उनले स्वस्तिक छाप लगाएनन् ।

उनले चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् । मतदाता नामावलीमा उनको नाम चितवनमा नभएकाले उनी आफूले आफैंलाई भोट हाल्न पाउँदैनन् ।

देशभर ७० प्रतिशतभन्दा बढी मत खस्ने आयोगको अनुमान

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश तथा प्रतिनिधिसभा चुनावमा मतदान गर्नका लागि एक जनालाई करिब २ मिनेट लाग्ने बताएका छन् । भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त थपलियाले मतदान छिटो र सहज बनाउन देशैभरका निर्वाचन अधिकृतहरूलाई आग्रह गरेका हुन् ।

त्यस्तै थपलियाले मतदान केन्द्रहरू अपांगमैत्री बनाइएको जानकारी दिए । प्रमुख आयुक्त थपलियाले यस पटक ७० प्रतिशतभन्दा बढी मत खस्ने सम्भावना रहेको बताए । २ दिन बिदा भएकाले पनि मतदानमा नागरिकहरू उत्साहित भएको उनको भनाइ छ ।

बेलुका मतदान सकिनेबित्तिकै सबै मतदानकेन्द्रहरूबाट मतपेटिका संकलन गरिने उनले बताए । आइतबार बेलुका ८ बजेतिरबाट मतगणना सुरु हुने बताए । त्यस्तै अबको ८ दिनभित्र प्रत्यक्षतर्फको सबै मतगणना सक्ने बताए ।