८० हाराहारीका देउवालाई सभापतिको भारी बोकाउनु अन्याय हुन्छः चन्द्र भण्डारी

८० हाराहारीका देउवालाई सभापतिको भारी बोकाउनु अन्याय हुन्छः चन्द्र भण्डारी

नेपाली कांग्रेसका उपसभापतिका उम्मेदवार चन्द्र भण्डारीले ८० वर्ष हाराहारीका शेरबहादुर देउवालाई पार्टी सभापतिको भारी बोकाउनु अन्याय हुने जिकिर गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले भने, “शेरबहादुरजी हाम्रो आदरणीय नेता हो । उमेरले ८० को हाराहारीमा पुग्नुभयो । यो उमेरमा उहाँलाई प्रधानमन्त्री र पार्टी सभापति दुवै पदमा दिनु बोझ हुन्छ, उहाँमाथि अन्याय हुन्छ । एउटै व्यक्तिलाई सधैं सबै पद दिनुपर्छ भन्ने मलाई लाग्दैन ।

नसक्ने भारी शेरबहादुरजीलाई बोकाएर किन फेरि असफल बनाउने ? सबै नेता कार्यकर्ता साथीहरुको भनाइ यही छ ।”नेता भण्डारीले सत्ता र शक्तिले महाधिवेशन प्रतिनिधिहरुको मन र मस्तिष्कलाई बिगार्न नसक्ने दाबी गरे । उनले थपे, “हाम्रा नेताहरु बारम्बार सत्तामा जाने पार्टीको नेता पनि बन्न नसक्ने, देश पनि चलाउन नसक्ने अवस्था रह्यो । कृष्ण सिटौला र शेरबहादुरजीले भन्ने कुरा एउटा हो ।”

उनले आफ्नो समूह पहिलो चरणमै सभापतिमा जित्नेमा विश्वस्त रहेको जनाउँदै दोस्रो चरणमा गए पनि डा. शेखर कोइराला विजयनजिक रहेको बताए । उनले भने, “बाहिरको विश्लेषण दोस्रो चरणमा जान्छ भन्ने छ । तर पहिलो चरणमै हाम्रो समूहले विजय हासिल गर्छ कि भन्ने लाग्छ ।”

रामचन्द्र पौडेल र शेखर कोइराला पनि आफ्नै समूहमा रहेको उनले बताए । उनले भने, “हामी अहिलेसम्म रामचन्द्र पौढेल समूह भनेर नै आएको हो । उहाँलाई हामीले कि मिलेर उठ्नोस् कि उम्मेदवारी नदिनोस् भनेका हौं । मलाई लाग्छ, रामचन्द्रले आफ्नो समूहलाई कमजोर बनाउनु हुन्न । उहाँले सहयोग नगर्ने भन्ने कुरा बाहिरको अफवाह हो । उहाँले आफू उम्मेदवार नभएपछि भोट माग्ने कुरा आउँदैन । डा. शशांक कोइरालासँग हिजो बिहान पनि हामी सँगै थियौं । हाम्रो सहकार्य टुट्ने भन्ने कुरा नै हुँदैन ।”

शेरबहादुर देउवा रामचन्द्र पौडेलकहाँ जानु असल संस्कार भएको पनि भण्डारीले बताए । उनले भने, “शेरबहादुरजी रामचन्द्रकहाँ जानु हाम्रो असल संस्कार नै हो । एक नेताले अर्काे नेतालाई आदर गरेको कुरालाई हामी सबैले मनन गर्नुपर्छ ।”

नेता भण्डारीले पार्टीलाई नयाँ नेतृत्व, नयाँ विचार र नयाँ दृष्टिकोण चाहिएको बताए । उनले भने, “नयाँ विचार, दृष्टिकोण र अनुहारले पार्टी र देशलाई बदल्न सक्छ । त्यसैले हामीले नेतृत्व परिवर्तनको एजेन्डा हामीले अघि बढाएका छौं । यसले कांग्रेसको तल्लो तहसम्म आशा जगाएको छ । भोलि अरु पार्टीसँग प्रतिस्पर्धा गर्नुपर्छ । पन्ध्रौं महाधिवेशनमा नेतृत्व गर्ने युवा हामीसँग छन् ।”