४ मंसिर, हुम्ला । हुम्लाकाे डाँफे आधारभूत विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच झडप भएकाे छ । सत्ता गठबन्धनकै युवाको दुई समूहबीच झडप हुँदा मतपेटिका समेत फुटेकाे मतदान अधिकृत साजन ऐडीले जानकारी दिए । एक पक्षले अर्कैको नाममा भोट खसालेपछि विवाद सिर्जना भएको थियो । सोही क्रममा उत्पन्न विवादले उग्ररुप लिंदा मतदनस्थल सुरक्षाका लागि खटिएका एक जना प्रहरी सहायक निरीक्षक (असई) घाइते समेत भएको उनले बताए ।
हेटौंडामा ७ जना पक्राउ
हेटौँडा–१० बसपार्कमा रहेको मतदान केन्द्रमा निर्वाचन बिथोल्न खोजेको भन्दै नेकपा बहुमत समूहका नेता–कायकर्ता पक्राउ परेका छन् । निर्वाचन बिथोल्न खोजेको भन्दै सो समूह मकवानपुरका इन्चार्ज हेटौँडा–१० बस्ने ४१ वर्षीय रवि खड्कासहित ७ जनालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार पक्राउ पर्नेहरूमा नेकपा बहुमत समूहका जिल्ला इन्चार्ज हेटौँडा–१५ का शक्ति मगर, समूह जिल्ला सचिवालय सदस्य बागमती गाउँपालिका–४ का लिला माझी, समूहका जिल्ला सदस्यहरु हेटौँडा–१० बस्ने अजय गहतराज, हेटौँडा–११ बस्ने विकास लामा, बागमती गाउँपालिका–८ बस्ने अनिल सिङ्तान र समूहका जिल्ला युवा अध्यक्ष हेटौँडा–८ बस्ने वसन्त लामा रहेका छन् ।
दोलखाको पुतलीकाठमा चार राउण्ड हवाई फायर
दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योती मावि पुतलीकाठ मतदान केन्द्रमा पनि तनाव भएपछि प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । उक्त घटनापछि मतदान रोकिएको छ । आज बिहान करिब साढे ११ बजेतिर एकैचोटी धेरै जना मतदान स्थलमा प्रवेश गर्न खोजेपछि तनाव सिर्जना भएको हो ।
मतदाताको भिडले मतपेटिका र प्रहरीमाथि आक्रमण गर्न खोजेपछि चार राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । उक्त घटनापछि वैतेश्वर गाउँपालिकाबाट प्रहरी निरीक्षकको नेतृत्वमा १० जनाको टोली झिकाइएको छ ।आजै बिहान दोलखाको तामाकोसी गाउँपालिका वडा नं. २ स्थित अमर मावि भतरेचौर मतदान केन्द्रमा पनि तनाव भएपछि प्रहरीले हवाई फायर गरेको थियो ।