काठमाडौं । निर्माता तथा अभिनेता दीपकराज गिरीले भविष्यमा राजनीतिमा आउनु परे फिल्म क्षेत्र नै छाडेर लाग्ने बताएका छन् ।आइतबार काठमाडौं क्षेत्र नम्बर ९ को दहचोक खहरे केन्द्रबाट मतदान गरेपछि उनले आफूले राजनीतिक र सामाजिक मुद्दामा बोलिरहेको बताए । तर अहिले भने आफू अर्धमौन अवस्थामा रहेको दीपकले बताए ।
‘राजनीतिक विषयमा बोलिरहेको छु, अहिले अर्धमौन छु । सदनमा युवापुस्ता पुग्नुपर्छ भन्ने मेरो मान्यता हो,’ दीपकले भने । उनले आफू कुनै एक व्यक्तिको पक्षमा भन्दा पनि परिवर्तनकारी विचार समूहलाई समर्थन गर्ने बताए । उक्त केन्द्रका सबैभन्दा अन्तिम मतदाता बनेका दीपकले आगामी फिल्म ‘छक्कापञ्जा ४’ मा ७० प्रतिशत विषयवस्तु वर्तमान राजनीतिक अवस्थाको रहेको जानकारी दिए ।
काठमाडौंमा ५५ प्रतिशत मत खस्यो, मतपेटिका गणनास्थल पुर्याइँदै
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौंमा ५५ प्रतिशत मत खसेको छ । यहाँका दस वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । मतदानका लागि तोकिएको साँझ ५ बजेसम्मको अवधिमा सबै मतदान केन्द्रहरूमा मतदान सकिएको छ ।
प्रारम्भिक तथ्यांकअनुसार काठमाडौंका दस निर्वाचन क्षेत्रहरूमा ५५ प्रतिशत मत खसेको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । ‘सबै केन्द्रहरूमा मतदान सकिएको छ । बेलुकी ५ बजेपछि कुनै पनि केन्द्रमा मतदाता देखिनुभएन,’ उनले भने, ‘त्यसैले हामीले मतदानको प्रक्रिया टुंग्याएर मतपेटिका संकलनको काम थालेका छौँ ।’
उनकाअनुसार मतदान केन्द्रहरूबाट मतगणनास्थलहरूमा पेटिका संकलनको काम प्रारम्भ भइसकेको छ ।क्षेत्र नं. १ मा ४५ हजार १८, क्षेत्र नं. २ मा ८१ हजार ९७०, क्षेत्र नं. ३ मा ५८ हजार ८०५, क्षेत्र नं. ४ मा ६९ हजार ७५२, क्षेत्र नं. ५ मा ७० हजार ९१९, क्षेत्र नं. ६ मा ६२ हजार १०२, क्षेत्र नं. ७ मा ६१ हजार २९१, क्षेत्र नं. ८ मा ५३ हजार १०६, क्षेत्र नं. ९ मा ७२ हजार १७३ र क्षेत्र नं. १० मा ७६ हजार ९०६ मतदाता छन् ।