राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो प्रयासमै चम्किने संकेत, चितवनबाट फराकिलो मतान्तरले जित्दै छन् रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो प्रयासमै चम्किने संकेत, चितवनबाट फराकिलो मतान्तरले जित्दै छन् रवि लामिछाने

काठमाडौँ। नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा फराकिलो मतान्तरसहित विजयी हुने लोकान्तर ‘एक्जिट पोल’ले देखाएको छ ।

देशभर एकसाथ भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेदेखि सकिएको बताउँदै मतदानस्थलभित्र पसेकाहरुले भने त्यसपछि पनि मत खसाल्न पाउने जनाएको छ ।

आयोगले छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ । यद्यपि आशातित मत भने खस्न नसकेको सरोकारवालाहरुले बताएका छन् । निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाताहरु उत्साहित नदेखिएको प्रतिक्रिया दिएका हुन् ।

Europass CV in Nepal

आइतबार दिउँसो आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जिओक) ले गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचन शान्तिपूर्ण रुपमा अघि बढेपनि मतदाताहरूको उपस्थिति कम पाएको बताए । उनले उपस्थित मतदाताहरुमा मतदान उत्साहजनक रहेको बताए ।

उनले भने, ‘निर्वाचन शान्तिपूर्ण रुपमा अघि बढ्यो । ललितपुर उपमहानगरपालिका र गोदावरी नगरपालिकाका मतदान केन्द्रमा अनुगमन गर्यौं । अनुगमनका क्रममा हामीले शान्त वातावरणमा धेरै उत्साहित भएर, आत्तिएर मतदान गर्न नआएको अवस्था देख्यौँ । मतदान उत्साहजनक छ र यसको परिणाम उत्साहजनक होला भन्ने आश छ ।’

त्यस्तै पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललगायतले पनि मतदाताहरूको उपस्थिति तुलनात्मक रुपमा कम पाएको प्रतिक्रिया दिए । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मतदानका लागि योग्य थिए । आयोगले तीमध्ये कति प्रतिशत मत खस्यो भन्नेबारे आधिकारिक जानकारी दिइसकेको छैन ।

निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि दुई हजार चार सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ । प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि तीन हजार दुई सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार सात सय आठ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ ।

यसरी आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल पाँच हजार छ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ पाँच हजार नौ सय सात उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।

केही महिनाअघि मात्रै स्थापना भएको र पहिलो पटक चुनावमा सहभागी भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो मत ल्याउने आँकलन गरिएको छ । देशभर सो पार्टीको पक्षमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो ।

रातोपाटीले देशभर गरेका रिपोर्टिङका क्रममा उल्लेख्य मतदाताहरूले आफूहरू विकल्पको पक्षमा रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा रहेको बताएका थिए । प्रत्यक्षमा सीमित सिटमा सो पार्टीको नतिजा आउने देखिएपनि प्रतिनिधिसभाको समानुपातिकतर्फ सो पार्टी चम्किने धेरैको आकलन छ । सो पार्टीले प्रदेशसभातर्फ भने उम्मेदवारी दिएको छैन ।

सर्वेक्षणमा १९ देखि ७८ वर्षका मतदाता सहभागी थिए । पहिलोपटक मतदान गर्न लागेकादेखि छैटौंपटक मतदान गर्न लागेका नागरिकसम्मलाई लोकान्तर सर्वेक्षणमा सहभागी गराइएको थियो ।

चितवन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने भरतपुर महानगरपालिकाका वडाहरू, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा बजार तथा ग्रामीण इलाकासम्म पुगेर सर्वसाधारण, पेशाकर्मी र व्यवसायीहरूसँग कुराकानी गरिएको थियो ।

व्यापारी, पेशाकर्मी, गृहिणी, किसान, शिक्षक, रिक्सा चालक, वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति, बेरोजगार युवा र विद्यार्थीहरूले अभिमत प्रकट गरेका थिए ।

लोकान्तरसँगको कुराकानीमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) जस्ता स्थापित दलका सक्रिय कार्यकर्ताले पनि यसपटक चुपचाप ढंगले रवि लामिछानेको पार्टीलाई भोट दिने बताएका थिए ।

‘देश र जनताको मुहार फेर्न भनेर राजनीतिमा लागेका हौं । जनताको जीवनमा परिवर्तन नभएपछि हामीले पुरानो पार्टीलाई नै दिनुपर्छ भन्ने छैन,’ सर्वेक्षणमा सहभागी नेकपा एमालेका एक सक्रिय कार्यकर्ताले भने ।

केही युवाले रविलाई भोट हाल्नकै लागि खाडी मुलुकबाट फर्केको बताएका थिए भने केही रविको पक्षमा अभियान सञ्चालन गर्न भनेर विदेशबाट फर्किएको भेटिए ।

युवामात्र नभई ६० वर्ष माथिका वृद्धवृद्धाले समेत नयाँलाई भोट दिने बताएका थिए । उम्मेदवारसँग प्रत्यक्ष भेट नभए पनि टेलिभिजन र भिडियो हेरेर रविलाई चिनेको धेरैले बताएका थिए । चितवनको शहरी र ग्रामीण क्षेत्रका मतदाताले उस्तै खालको प्रतिक्रिया जनाएका थिए ।