मतदानको प्रारम्भिक रुझान हेर्दा यस निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी आश्चर्यजनक नतिजा निकाल्दै उदाउने देखिन्छ । १७ असोजमा मात्रै दर्ता भएको यो दलप्रति खास गरेर युवाहरूको आकर्षण देखिएको छ ।
पहिलोपटक सहभागिता जनाएको निर्वाचनबाटै राष्ट्रिय दल बन्ने निश्चित छ । स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट उम्मेदवार छन् । उनीसहित केही सिट प्रत्यक्षतर्फ जित्ने तथा समानुपातिकमा अपेक्षा गरिएभन्दा राम्रो मत ल्याएर संसद्मा बलियो हैसियतसहित पुग्ने यो दलको दाबी छ ।
मतदान सम्पन्न भएपछि आइतबार चितवनमा सभापति लामिछानेले आफ्नो पार्टीले अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउने बताए । ‘देशभरको रिपोर्टिङले उत्साहित छु,’ उनले भने, ‘सबै मतदाताले विश्वास गरेका छौँ है भन्नुभएको छ । हामी देशभर अपेक्षा गरेभन्दा धेरै मत पाउँदै छौँ । समानुपातिकतर्फ राम्रो परिणाम आउँदै छ ।’ पार्टी प्रवक्ता डा. मुकुल ढकालले समानुपातिकतर्फ करिब ३० सिट ल्याएर आफ्नो दल पहिलो हुने दाबी गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ एक सय ३१ स्थानमा उम्मेदवारी दिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी भने यसपटकको निर्वाचनमा पनि राष्ट्रिय दल बन्ने–नबन्ने अनिश्चित छ । यद्यपि, प्रत्यक्षमा कम्तीमा आधा दर्जन सिटसहित राष्ट्रिय पार्टी बन्ने राप्रपाको दाबी छ ।
मतपरिणाम ‘आठ दिनभित्र’
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आठ दिनभित्र आइसक्ने बताएका छन् । मतदान स्थगन भएको ठाउँमा पुन: मतदान गराएर प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको मतपरिणाम जतिसक्दो छिटो दिने गरी तयारी गरिएको उनले बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार एउटा क्षेत्रको मतपत्र कम्तीमा चार ठाउँमा गणना हुने व्यवस्था गरिएको छ । प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक, प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकको मतपत्र छुट्टाछुट्टै राखेर एकै पटक गणना गरिने भएको छ । आयोगले प्रत्यक्षको मतगणना पहिला र समानुपातिकको पछि गणना गर्ने तयारी गरेको थियो । आइतबार मतपेटिका कब्जा, आगजनी प्रयासका घटना भएपछि आयोग समानुपातिकको पनि एकै पटक गणना गर्ने निर्णयमा पुगेको हो ।
मतदानस्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भइरहेको आयोगले जनाएको छ । ‘जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार ७ वटा हिमाली जिल्लाका अति विकट मतदान केन्द्रका मतपेटिका मौसमले साथ दिए नेपाली सेनाको हेलिकोप्टरबाट सोमबार अपराह्न ४ बजेभित्र सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतकोकार्यालयसम्म ढुवानी गर्ने योजना छ,’ थपलियाले भने ।
एउटा सभाको मतपत्र हाल्ने मतपेटिकामा अर्को सभाको मतपेटिकासमेत हालेको गुनासो आएकाले गणनाका क्रममा सदर मतपत्र भए सम्ब्न्धित सभाको मतपत्रमा समावेश गर्न आयोगले निर्देशन दिएको छ ।