प्रतिनिधि सभामा एक मात्रै निर्वाचन क्षेत्र रहेको मुस्ताङबाट नेपाली कांग्रेसका युवा नेता योगेश गौचन थकाली निर्वाचित भएका छन्। तर, निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ।
२८ वर्षीय गौचनले नेकपा एमालेका प्रेमप्रकाश तुलाचनलाई पराजित गरेका हुन्। गौचनले तीन हजार १५६ मत पाउँदा एमालेका तुलाचनले दुई हजार ५२१ मत मात्रै पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवीणकुमार शेरचनले ६६ मत मात्रै पाएका छन्।
मुस्ताङको थासाङ गाउँपालिका–३ का योगेशले ललितपुरको लिटिल एन्जल्स स्कुलबाट १२ कक्षा पास गरेका छन्।उनले एलाइन्स युनिभर्सिटी बैंगलोरबाट बिजनेश म्यानेजमेन्टमा स्नातक गरेका छन्। योगेश नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन्। उनी पर्यटन व्यवसायीसमेत हुन्।
थकाली कांग्रेस गण्डकी प्रदेशको कार्यसम्पादन र कार्यसमिति सदस्य छन्। पार्टीको वडा सभापति र जिल्ला सदस्य हुँदै उनी मुस्ताङबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छन्।
उनी मुस्ताङबाट कांग्रेसको उम्मेदवारका रुपमा सर्वसम्मत सिफारिस भएका थिए। २०७४ को चुनावमा पराजित भएपछि उनका बाबु रोमीले विशेष परिस्थितिबाहेक चुनाव नलड्ने घोषणा गरे। २०७० को चुनावमा रोमी झिनो मतान्तरले विजयी हुँदै संसद् प्रवेश गरेका थिए। त्यही बेला उनी वाणिज्यमन्त्री भए।
त्यसअघि गिरिजाप्रसाद कोइरालाको सरकारमा उनी परराष्ट्र सहायकमन्त्री भएका थिए।२०७४ को चुनावमा वाम गठबन्धनबाट प्रेमलाई एमालेले उम्मेदवार बनायो भने कांग्रेसबाट पुनः रोमी बने।रोमी झिनो मतले पराजित भएका थिए। ५ वर्ष पहिले कै उम्मेदवारलाई एमालेले दोहोर्याएको थियो। तर २०७४ को निर्वाचनमा आफ्नै बाबुलाई हराएका प्रेमविरुद्ध योगेशले बदला समेत लिए।
मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका योगेश र पराजित प्रेम नातामा साला भेना हुन् । रोमी (योगेशका बुवा) र प्रेम मामा–फूपूका छोरा हुन् ।प्रेमलाई योगेशले भेना र प्रेमले योगेशलाई साला भनेर सम्बोधन गर्छन् । भारतमा ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट सकेर फर्किएका योगेश राजनीतिसँगै व्यापारमा संलग्न छन् । गौचनको लेतेमा कालोपानी गेस्ट हाउस होटल छ । साथै उनले ट्राभल्स कम्पनी पनि सञ्चालन गर्छन् ।
निर्वाचित योगेशका बुबा रोमीले चार दशक बढी कांग्रेस मुस्ताङको राजनीतिमा एकछत्र पकड कायम राखेका थिए । रोमीले २०५६ र २०७० सालमा निर्वाचनमा जितेका थिए । पूर्व मन्त्री समेत रहेका रोमीले २०६४ र २०७४ मा चुनाव हारेका थिए ।
नवनिर्वाचित योगेशका हजुरबुबा भने पञ्चायती व्यवस्थाका पक्षधर थिए । मुस्ताङका प्रधानपञ्च तथा कट्टर राजावादी रोमी २०३४ सालतिरदेखि कांग्रेसमा आवद्ध भएका थिए । योगेशले चीनको सिमानामा रहेको कोरला नाका सञ्चालन गर्न चिनसँग कुटनीतिक पहल गर्ने, त्यहाँ जोड्ने सडक पूर्वाधार तयार पार्ने मुद्दालाई प्राथमिकता दिने बताएका छन् । जोमसोम–कोरला सडक कालोपत्रे गर्ने र बेनी–जोमसोम सडकलाई स्थायी र दीर्घकालीन निकास दिन पहल गर्ने मतदाता समक्ष प्रतिवद्धता गरेका छन् ।