लगभग देशैभर मतगणना सुरु : सत्ता गठबन्धनको निराशाजनक अग्रता

लगभग देशैभर मतगणना सुरु : सत्ता गठबन्धनको निराशाजनक अग्रता

५ मंसिर, काठमाडौं । देशका २६ स्थानमा अहिले प्रतिनिधिसभा सदस्य तर्फको मतगणना जारी छ । सोमबार दिउँसो २ बजेसम्मको जारी प्रारम्भिक मतगणना अनुसार सत्ता गठबन्धन १९ स्थानमा पछि परेको देखिएको छ ।नेकपा एमालेले १० स्थानमा अग्रता लिइरहँदा सत्ताघटक नेपाली कांग्रेसले पाँच स्थानमा अग्रता लिएको छ भने एक स्थानमा जित हासिल गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले ४ स्थानमा अग्रता लिइरहेका छन् । सत्ताघटक माओवादी केन्द्रले एक स्थानमा अग्रता लिँदा अर्को दल नेकपा एकीकृत समाजवादीले एक स्थानमा पनि अग्रता लिन सकेको छैन ।झापा–२ मा एमालेका देवराज घिमिरे १४३२ मत अघि हुँदा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका हरिकुमार राना दोस्रो स्थानमा छन् ।

बाँके २ मा कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठोर पछि परेका छन् । एमालेका किस्मतकुमार कक्षपतिले ३०० पाउँदा राठोरको पक्षमा १०० मत छ ।मतगणना जारी रहेको काठमाडौं ९ मा पनि गठबन्धनकी उम्मेदवार कल्पना धमला दोस्रो स्थानमा छिन् ।

Europass CV in Nepal

धनुषा ३ मा गठबन्धनका उम्मेदवारले दोस्रो स्थानको मत पनि ल्याउन सकेका छैनन् । यस क्षेत्रमा नेकपा एमालेकी जुलीकुमारी महतोले ६०८ मतसहित अग्रता लिएकी छन् । उनलाई जनमत पार्टीका शम्भुनाथ साहले पछ्याइरहेका छन् ।

काठमाडौं ३ मा एमालेका कृष्णकुमार राई र दाङ ३ मा कोमल वलीले गठबन्धनका उम्मेदवारलाई पछि पारेका छन् ।ललितपुर पनि गठबन्धनका साझा उम्मेदवार कांग्रेसका उदयशमसेर राणा पनि पछि परेका छन् । एमालेका नवराज सिलवालले ६६७ मत पाउँदा राणाले ४०१ मत ल्याएका छन् ।

दैलेख १ मा पनि गठबन्धनका उम्मेदवार पछि परेका छन् । एकीकृत समाजवादीका अम्बरबहादुर थापालाई एमालेका रविन्द्रराज शर्माले पछि पारेका हुन् । एमालेका शर्माले ५५ मत पाउँदा थापाको पक्षमा ३६ मत आएको छ ।

ललितपुर २ र ३ मा गठबन्धनका उम्मेदवार दोस्रो स्थानमा समेत आउन सकेका छैनन् । यी दुवै क्षेत्रमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । ललिपुर २ मा प्रेमकृष्ण महर्जनले ५७७८ मत पाउँदा हाम्रो नेपाली पार्टीका सुदिन शाक्य दोस्रो स्थानमा छन् । ललितपुर ३ मा एमालेका अमृत खड्काले ९६४ मत ल्याएर अग्रता लिँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीको दोस्रो स्थानको मत छ । यस स्थानमा माओवादी केन्द्रकी पम्फा भुसाल उम्मेदवार छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेका क्षेत्रमा गठबन्धनका उम्मेदवार दोस्रो स्थानको मत समेत ल्याउन सकेका छैनन् । मत गणना जारी रहेका काठमाडौं ६, ७, ८ र कास्की २ मा रास्वपा पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । यी चारै क्षेत्र मध्ये तीनमा एमाले र एकमा हाम्रो नेपाली पार्टीले रास्वपाका उम्मेदवारलाई पछ्याएका छन् ।

राप्रपाले दुई स्थानमा अग्रता लिइरहेको छ । झापा ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता गठबन्धनका साझा उम्मेदवार कृष्ण सिटौलालाई पछि पारेका छन् । लिङदेनले २२७ मत ल्याउँदा सिटौलाले २१३ मत पाएका छन् ।

सत्तागठबन्धनबाट कांग्रेसका पाँच जनाले अग्रता लिइरहेका छन् भने एक जना निर्वाचित भएका छन् । मुस्ताङमा योगेश गौचन थकाली निर्वाचित भएका छन् । नवलपुर २, भक्तपुर २, काठमाडौं १, ४ र १० मा गठबन्धनका उम्मेदवार अघि छन् । यी क्षेत्रमा कांग्रेसका उम्मेदवार छन् । काठमाडौं १० बाहेक यी पाँच क्षेत्रमा एमालेका उम्मेदवारले दोस्रो स्थानको मत पाएर पछ्याइ रहेका छन् ।

जनमत पार्टीले सप्तरी १ र २ मा अग्रता लिइरहेको छ । सप्तरी १ मा दोस्रो स्थानको मत सहित कांग्रेसले पछ्याइरहेको छ । सप्तरी २ मा दोस्रो स्थानको मत समेत सत्तागठबन्धनका उम्मेदवारले पाउन सकेका छैनन् । सत्तागठबन्धनका दलहरुमा माओवादी केन्द्रले एक स्थान सर्लाही ३ मा मात्रै अग्रता लिन सकेको छ । जारी मतगणनामा एकीकृत समाजवादीले कुनै पनि क्षेत्रमा अग्रता लिन सकेको छैन ।