चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्ण भक्त पोखरेलले अग्रता कायम गरेका छन् । अहिलेसम्मको मतपरिणाम अनुसार एमालेका कृष्ण भक्त पोखरेल १ हजार २४४ मतसहित शिर्ष स्थानमा उक्लिएका छन् ।
त्यस्तै ७०४ मतसहित नेपाली कांग्रेसका उमेश श्रेष्ठ दोस्रो स्थानमा सूर्य चिन्हलाई पछ्याईरहेको छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछाने भने २६० मतसहित तेस्रो स्थान पछ्याईरहेका छन् । अहिले नेकपा एमालेको ‘कोर एरिया’को मतगणना भईरहेकोले घण्टीका उम्मेदवार लामिछानेको मत कम आएको प्रक्षेपण गरिएको छ । रवि लामिछानेको कोर एरियामा प्रवेश गर्न बाँकी छ । सो क्षेत्रबाट भने रविले उल्लेख्य मत पाउने आंकलन गरिएको छ ।
डडेल्धुरामा २ हजार मत गन्दा देउवाले पाए ९४९ मत
डडेल्धुरामा २ हजार मत गन्दा नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ९४९ मत पाएर सुरूआतदेखि नै अग्रता लिएका छन्। यस्तै बिपी कांग्रेसका कर्ण मल्लले ४२५ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार सागर ढकालले ४२२ मत पाएका छन् ।
केपी ओलीको पनि अग्रता कायमै
नेकपा एमालेले भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेका अध्यक्ष केपी शर्मा ओलीले झापा– ५ बाट फराकिलो अग्रता लिएका छन् । सोमवार दिउँसोबाट शुरू भएको मतगणनामा ओलीले अग्रता लिएका हुन् । ओलीले ३ हजार २ सय १२ मत प्राप्त गर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १ हजार ५ सय २३ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ६ सय २ मत प्राप्त गरेका छन् । ओलीले मंसिर १५ सम्ममा एमालेको सरकार बन्ने दाबी गर्दै आएका थिए ।




