५ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणनापछि देशभरका मतगणनास्थलमा समानुपातिक प्रणालीतर्फको मतगणना सुरु भएको छ । निर्वाचन आयोगका अनुसार, अघि बेलुकी साढे ७ बजेसम्म देशभर २१ हजार समानूपातिक मत गणना भएको छ ।
आयोगको विवरण अनुसार, नेपाली कांग्रेस करिव ३० प्रतिशत मत ल्याएर सबैभन्दा अगाडि छ भने एमालेले २५ प्रतिशतको हाराहारीमा मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले करिब १८ प्रतिशत र माओवादी केन्द्रले १० प्रतिशत हाराहारीमा मत पाएको छ ।
यता लुकामारी खेल्दै रबिन्द्र मिश्र
अघिल्लोपल्ट प्रकाशमान सिंहविरुद्ध चुनाव लड्दा रवीन्द्र मिश्रलाई वैकल्पिक राजनीतितर्फ आकर्षण भएका मतदाताको साथ थियो । यसपल्ट राप्रपाबाट काठमाडौं–१ मा उम्मेदवार बनेका मिश्रलाई आफ्नो ‘मार्ग परिवर्तन’ निर्णयले असर पारेको प्रारम्भिक मतसंकेतले देखाएको छ ।
उसो त हालसम्मको गणनामा कांग्रेस उम्मेदवार सिंहसँग मिश्र कडा प्रतिस्पर्धामै रहेको देखिन्छ । तर विगतमा उनले पाएको मतमध्ये ठूलो संख्यालाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले प्रभावित पारेका छन् । यही अवस्था अन्तिमसम्म रहे मतभारको प्रवृत्ति नै प्रभावित हुन सक्छ ।
एक तिहाइ भन्दा बढी मत गणना हुँदासम्म मिश्र र सत्ता गठबन्धनका साझा उम्मेदवार प्रकाशमान सिंहबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । यो प्रतिस्पर्धामा सहज जितका लागि पाँच दलको गठबन्धनबाट साझा उम्मेदवार बनेका सिंह पनि सहज अवस्थामा छैनन् ।
काठमाडौं–१ मा काठमाडौं महानगरपालिकाका वडा नम्बर १०, ११, २९ र ३१ पर्छन् । यी सबै वडाको मत मिसाएर गणना भइरहेको छ ।बानेश्वर क्याम्पसमुना, पाठशाला, मिलन विद्या, बिजय मेमोरियल, मिनभवन, मीनभवन सहकारी लगायतका मतदान केन्द्रको मत गन्दा मिश्र र सिंहले एकले अर्कोलाई कहिले पछि पारेका छन् कहिले आफू अगाडि भएका छन् ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान पौने ९ बजेदेखी मतगणना जारी छ । निर्वाचन अधिकृतको कार्यालयले बिहान ११ बजे दिएको आधिकारिक विवरणमा सिंह अगाडि थिए । सिंहले ७५४ मत पाउँदा मिश्रले ६८० मत पाएका थिए । नेकपा एमालेका उम्मेदवार किरण पौडेलले ४९६ मत ल्याएर पच्छ्याएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले १७५ मत पाउँदा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले २२५ मत ल्याए ।
बम विगतमा उज्वल थापा, रवीन्द्र मिश्रसँगै वैकल्पिक राजनीति भन्दै साझा विवेकशीलमा संगै रहेका नेता हुन् । रवीन्द्र मिश्रले मार्ग परिवर्तन गरेर राप्रपा रोज्नुअगावै विवेकशील साझाको संगठन छिन्नभिन्न भयो । त्यही क्रममा बमले पनि साझा विवेकशील छाडे । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिश्रसँगै बम प्रतिस्पर्धामा उत्रिए । उनले आफू अझै वैकल्पिक राजनीतिकै बाटोमा रहेको बताउने गरेका छन् ।
जारी मतगणनालाई नियाल्दा नयाँ अनुहार खोज्ने मतदाताहरु विभाजित भएको देखिन्छ । कतिपयले प्रत्यक्षतर्फ हलो र समानुपातिकतर्फ घण्टीमा मतदान गर्नु यसको एउटा उदाहरण हो । अर्कोतर्फ नयाँ अनुहारका रुपमा बम र खरेल पनि उम्मेदवार हुँदा नयाँ अनुहार खोज्ने मतदाताहरु विभाजित भएको देखिन्छ । तथापि, मिश्र र सिंह थोरै मतान्तरले अगाडि र पछाडि भइरहेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिउँसो एक बजे दिएको मतगणना अपडेटमा पनि केही मतले सिंह नै अगाडि थिए । तीन हजार १८९ मत गन्दा सिंहले ८१८ मत पाए भने मिश्रले ७३७ मत । एक बजेसम्म पुकार बमले आफ्नो मत ५२८ पु¥याउँदा एमाले उम्मेदवार पौडेल ४९६ मतमा समेटिएका थिए ।
दिउँसो साढे ४ बज्दा मिश्रले अग्रता लिए । त्यसयता मिश्र झिनो मतान्तरमा निरन्तर अगाडि छन् । साढे ४ बजेसम्म ९ हजार २८ मत गनिसक्दा सिंहले २३ सय दुई मत पाउँदा मिश्रले दुई हजार २२४ मत पाए । एमाले उम्मेदवार पौडेल १ हजार ४४१ मतमा समेटिँदा पुकार बमले १३६७ र रमेश खरेलले १०४६ मत पाएका थिए ।
बेलुकी साढे ६ बजेसम्म ११ हजार बढी मत गनिसक्दा सिंहले २८७७ मत पाएका छन् । निरन्तर अग्रता कायम राख्दै मिश्रले ३०५८ मत पाएका छन् । एमालेका उम्मेदवार पौडेल १७१३ मत ल्याउँदा पुकार बमले १७२९ मत पाएका छन् । रमेश खरेलको १३३६ मत छ ।