६ मंसिर, काठमाडौं । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मत अन्तरले अग्रता कायम राखेका छन् । ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाएका छन् ।
नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा कुँवरले १ हजार ४४९ मत पाएकी छन् । ज्ञानेन्द्र गोमाभन्दा २ हजार ६४२ मतअन्तरले अगाडि छन् । पहिलो पटक संसदीय निर्वाचन लडेका शाही राप्रपाका प्रवक्तासमेत हुन् ।
नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ७९८ र नेपाल मजदुर किसान पार्टीका डिल्ली प्रसाद काफ्लेले १४९ मत पाएका छन् । जुम्लामा २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका गजेन्द्र महत विजयी भएका थिए । जुम्लाका ६८ हजार मतदातामध्ये करिब ६५ प्रतिशत खसेको थियो ।
देशभर समानुपातिकमा एमाले अगाडी : प्राप्त मत ५० हजार नाघ्यो
समानुपातिकतर्फ प्रतिनिधि सभामा नेकपा एमालेले अग्रता बनाएको छ । पछिल्लो मतगणनाबाट प्राप्त नतिजा अनुसार समानुपातिकतर्फ नेकपा एमालेले ५० हजार मत कटाएको छ । अहिलेसम्म समानुपातिक प्रतिनिधि सभातर्फ एमालेले ५३ हजार ३६० मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेसले ४८ हजार ३७९ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । स्वतन्त्र पार्टीले प्रतिनिधि सभा २३ हजार ५८१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै माओवादी केन्द्रले २० हजार ९ सय मत प्राप्त गरेको छ । माओवादी केन्द्र चौथो स्थानमा छ । पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । राप्रपाको प्रतिनिधि सभा समानुपातिकतर्फ ११ हजार ४०५, जनमत पार्टीको ४ हजार ४६१, नेपाल मजदुर किसान पार्टीको ४ हजार १३३, जनता समाजवादी पार्टी, नेपालको ३ हजार ७७३, नेकपा (एकीकृत समाजवादी) २ हजार ४८४, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल २ हजार ६३ र अन्य दलको मत ९ हजार ९२७ रहेको निर्वाचन आयोगले जनाएको छ ।