रवि लामिछाने किन छन् लगातार पछाडि ? उनि भन्छन्, ‘लिड गर्ने पालो अब मेरो’

रवि लामिछाने किन छन् लगातार पछाडि ? उनि भन्छन्, ‘लिड गर्ने पालो अब मेरो’

चितवन । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले देशका विभिन्न ठाउँमा उत्साहजनक उपस्थिति देखाउँदा पार्टीका राष्ट्रिय सभापति रवि लामिछाने चितवन– २ मा मतगणनाको सुरुवातदेखि अग्रता लिन सकिरहेका छैनन् । सो पार्टीका उम्मेदवारहरू चितवन– १ मा हरि ढकाल पहिलो र क्षेत्र नम्बर ३ मा जिता बराल दोस्रो हुँदा पनि चितवन– २ मा रवि लामिछाने एमालेका उम्मेदवार कृष्णभक्त पोखरेललाई उछिनेर पहिलो हुने प्रायसमा अझै सफल भएका छैनन् ।

चितवन– २ का सहायक निर्वचन अधिकृत ईश्वर आचार्यका अनुसार यो क्षेत्रमा आइतबार भएको मतदानमा ८४ हजार ३१५ मत खसेको हो । सोमबार २ बजे गणना सुरु भएर मंगलबार बिहान ११ बजेसम्म करिब १० हजार ४६८ मत गणना भएको छ । जसमा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ६ सय २३ र सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ३ हजार २ सय १६ मत ल्याएका छन् ।

स्वतन्त्र पार्टीका लामिछाने २ हजार ९ सय ७८ मत ल्याएर तेस्रो स्थानमा छन् । चुनावका क्रममा आक्रामक प्रचार अभियान चलाएका र अन्तिम चुनावी सभामा नारायणी नदी किनारमा समर्थकहरूको राम्रै जमघट जुटाएका लामिछानेले गणनासँगै सुरुवाती अग्रता कसो नलेलान् भन्ने धेरैलाई लागेको थियो । तर, गणना सुरु भएर १० प्रतिशतभन्दा बढी मत गणना सकिँदासमेत लामिछाने अगाडि आएका छैनन् ।

Europass CV in Nepal

गणना गर्न धेरै मत बाँकी नै छ । अनि अहिले जहाँ गणना भयो त्यहाँ रविलाई मत नआउँदैमा आत्तिहाल्नु पर्दैन भन्नेमा समर्थकहरू विश्वस्त देखिन्छन् । अहिले गणना भइरहेको स्थान चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाको हो । त्यहाँ गएको स्थानीय निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्ष जितेको थियो । सत्तारुढ गठबन्धनले वडा तहसम्मै गठबन्धन गरेका थिए । तर त्यहाँका सातमध्ये पाँच वडा एमालेले जितेको थियो ।

इच्छाकामनाको पहाडी क्षेत्रका मत गणना हुँदासम्म एमालेका पोखरेल फराकिलो मतान्तरमा थिए । तर इच्छाकामनाकै राजमार्ग आडका वडाहरूमा गणना हुन थालेपछि मतान्तर कम हुँदै गएको थियो । चितवन– २ मा इच्छाकामनासहित कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका २९ मध्ये सदरमुकाम र बजार क्षेत्रका १० वटा ठुला वडा रहेका छन् । लामिछानेको प्रचार अभियान बजारमा आक्रमक तरिकाले भएको थियो ।

इच्छाकामनाको बजार र राजमार्ग क्षेत्रमा उनले जसरी राम्रो मत पाउन थाले कालिका नगरपालिकामा आएपछि त्यो क्रम बढ्ने आशामा उनका समर्थक छन् । त्यसैगरी धेरै मतदाता रहेका भरतपुरका वडाहरूमा लामिछानेप्रति ‘लहर नै चले’को हुँदा उनीहरू जित हुनेमा ढुक्क देखिन्छन् । तर कालिका नगरपालिका र धेरै मतदाता रहेका भरतपुरका २, १०, ११ र १२ नम्बर वडा पनि एमालेको राम्रो प्रभाव रहेको ठाउँ हो ।

इच्छाकामानामा एमालेले आफ्नो मत जोगए जसरी कालिका र भतपुरमा जोगाउन नसकेको अनुमान छ । तर मतगणना नहुँदासम्म यसै भन्न सकिँदैन । सत्तारुढ गठबन्धनले पनि अहिलेसम्म राम्रै मत ल्याएको हुँदा लामिछानेको अवस्था के हुन्छ कालिका नगरपालिकाको गणना सुरु भएपछि बल्ल प्रष्ट हुनेछ ।

मतगणना स्थल अ‍ौद्योगिक प्रदर्शनी केन्द्रमा संचारकर्मीलाई प्रतिक्रिया दिँदै लामिछानेले इच्छाकामनामा नेकपा एमालेसँग ठूलो अन्तर हुने अनुमान गरेको दाबी गरे। ‘तर भोट हामीले सोचेभन्दा धेरै आयो, अन्तर सोचे भन्दा कम भयो,’ चितवन-२ का उम्मेदवार लामिछानेले भने, ‘विपक्षी दलका नेताहरूले पनि सोचेभन्दा कम अन्तर आयो भन्नुभएको छ।’

चितवन-२ को इच्छाकामना गाउँपालिकाको मतगणना सकिएको छ। यहाँको १०४०५ मत गणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेल ३६२३ मतका साथ सबैभन्दा अगाडि छन्। नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३२१६ मत प्राप्त गरेका छन्। लामिछानेले २९७८ मत ल्याएका छन्। लामिछाने र पोखरेलको मतको अन्तर ६४५ छ। एमालेले यो गाउँपालिकाबाट कम्तीमा १ हजार ५ सय मतले लिड गर्ने आशा राखेको थियो। इच्छाकामनामा पहाडी क्षेत्रहरू पर्छन्।

अहिले कालिका नगरपालिकाको गणना सुरू भएको छ।लामिछानेले कालिका नगरपालिकाका सबै वडाहरूमा आफूलाई उल्लेख्य मत आउने दाबी गरे।’इच्छाकामनाबाट सोचेभन्दा बढी भोट आयो, अब लिड गर्ने पालो मेरो हो,’ उनले भने।

चितवन-२ मा भरतपुर महानगरपालिकाका १० वटा वडाहरू पनि पर्छन्।सभापति लामिछानेले आफ्नो पार्टीले देशभरबाट उल्लेख्य मत पाइरहँदा उत्साहित भएको बताए। ‘समानुपातिकतर्फ तेस्रो दल बनिरहेका छौं, दोस्रो वा पहिलो बन्ने सम्भावना पनि देख्छु,’ लामिछानेले भने।