काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टीको सोबिता गौतमलाई माओवादी केन्द्रकी उम्मेदवार तथा पूर्वसभामुख ओनसरी घर्तीले बधाई दिएकी छन् । घर्तीले निर्वाचनमा प्राप्त मतपरिणामलाई स्वाभाविक रूपमा लिएको बताएकी छन् ।
‘मंसिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौं २ बाट विजयी सोबिता गौतमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । निर्वाचनमा जित-हार स्वाभाविक प्रक्रिया हो, यसलाई मैले स्वाभाविक रुपमा लिएकी छु,’ घर्तीले भनेकी छन्, ‘मैले मत माग्ने क्रममा पटकपटक भनेकी थिए कि काठमाडौं क्षेत्र नम्बर २ मेरो कर्मथलो भइसक्यो । आजको दिनमा उक्त प्रतिबद्धता पुनः एकपटक दोहोर्याउन चाहन्छु ।’ उनले आफू निर्वाचनमा पराजित भएपनि काठमाडौं २ का मतदातासँगै रहने प्रतिबद्धता जनाएकी छन् ।
काठमाडौं २ मा रास्वपाकी गौतम १५ हजार २ सय २९ मत ल्याएर निर्वाचित भएकी थिइन् । यो निर्वाचन क्षेत्रमा पाँच दलीय गठबन्धनकी उम्मेदवार घर्तीले भने ९ हजार ४ सय ४९ मत पाएर चौथो स्थानमा रहेकी थिइन् ।