नेपाली विद्यार्थीले एक वर्षमा मात्रै अमेरिकालाई बुझाए ५० अर्ब रुपैयाँ

नेपाली विद्यार्थीले एक वर्षमा मात्रै अमेरिकालाई बुझाए ५० अर्ब रुपैयाँ

काठमाडौं। नेपाली विद्यार्थीले एक वर्षमा अमेरिकालाई ५० अर्ब रुपैयाँ बुझाएको पाइएको छ।उनीहरुले अमेरिकामा अध्ययन गर्नको लागि उक्त रकम आर्थिक वर्ष सन् २०२१/२२ मा बुझाएको इन्स्टीच्युट अफ इन्टरनेसनल एजुकेसन (आइआइई) र अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ एजुकेसन एन्ड कल्चरल अफेयर्सले जारी गरेको ‘ओपन डोर्स रिपोर्ट २०२१/२२’ मा खुलासा गरिएको हो।

हालै सार्वजनिक गरिएको उक्त रिपोर्टमा गत आर्थिक वर्ष २०२१/२२ मा नेपाली विद्यार्थीले ३८ करोड ४० लाख अमेरिकी डलर (५० अर्ब ७ करोड रुपैयाँ)अमेरिकी अर्थतन्त्रमा योगदान गरेको उल्लेख छ।

रिपोर्ट अनुसार उक्त वर्ष ११ हजार ७९९ जना नेपाली विद्यार्थी अमेरिकाका विभिन्न सहरमा अध्ययनरत थिए। ती विद्यार्थीले ५० अर्ब रुपैयाँ बरारबको शैक्षिक शुल्क अमेरिकाका विभिन्न विश्वविद्यालय र कलेजलाई बुझाएका हुन्।

आर्थिक वर्ष २०२१/२२ मा कुल ९ लाख ४८ हजार ५१९ जना अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिकामा अध्ययनरत थिए। शैक्षिक शुल्क वापत ती विद्यार्थीबाट अमेरिकाले ३२ अर्ब अमेरिकी डलर प्राप्त गरेको रिपोर्टमा उल्लेख गरिएको छ।

गत आर्थिक वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीबाट अमेरिकाले उठाएको कुल रकमको १.२ प्रतिशत हिस्सा नेपाली विद्यार्थीले बुझाएका थिए।अमेरिकामा गत वर्ष अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीको सूचिमा नेपाल १२औं नम्बरमा रहेको छ। अर्थात अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा १२औं ठूलो संख्या नेपालीको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या ५.६ प्रतिशतले वृद्धि भएको रिपोर्टमा जनाइएको छ।अमेरिकामा अध्ययनरत सबैभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीमा क्रमसः चीन, भारत, दक्षिण कोरिया, क्यानडा, भियतनाम, ताइवान, साउदी अरेबिया, ब्राजिल, मेक्सिको, नाइजेरिया, जापान र नेपालका रहेका छन्।