भक्तपुर २ बाट एमालेका युवा नेता महेश बस्नेत पराजित

भक्तपुर २ बाट एमालेका युवा नेता महेश बस्नेत पराजित

भक्तपुर । भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका दुर्लभ थापा विजयी हुनुभएको छ । मध्यपुरथिमि नगरपालिका बोडेको नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा भएको मत गणनाको आज बिहान ५ बजे घोषणा भएको अन्तिम मत परिणामको नतिजा अनुसार कांग्रेसका थापा नेकपा एमालेका पोलिटब्युराे सदस्य महेश बस्नेतलाई ९५९ को मतान्तरले पराजित विजयी हुनु भएको हो ।

कुल ६५ हजार ९९१ मत रहेको यस क्षेत्रमा कांग्रेसका उम्मेदवार थापा २४ हजार २३८ मतले अग्रता प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी महेश बस्नेतले २३ हजार २७९ मत प्राप्त गरी पछाडि पर्नु भएको हो ।

२०७४ सालको चुनावमा यस क्षेत्रमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नु भएका दमननाथ ढुङ्नाले १८ हजार ६८७ मत प्राप्त गर्दा नेता बस्नेतले ३६ हजार ४१२ मत प्राप्तगरी विजयी हुनु भएको थियो । अहिले यहीँ क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार थापासँग ९५९ मतको अन्तरमा बस्नेतले पराजय भोग्नु पर्यो ।

Europass CV in Nepal

भक्तपुर क्षेत्र नं. २ मा २०४६ सालमा बहुदल पुनस्थापनापछि कांग्रेस र नेमकिपाले पालैपालो जित्दै आएका छन् । २०४८ सालमा कांग्रेसका जगनाथ आचार्य विजयी भएको यस क्षेत्रमा त्यसपछि क्रमश २०५१ सालको मध्यावधि चुनावमा नेमकिपाका आशाकाजी बासुकला, २०५६ सालको चुनावमा पुन कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ सालको चुनावमा नेमकिपाका सुनिल प्रजापति, २०७० सालको चुनावमा कांग्रेसका रामेश्वर ढुंगेल र २०७४ सालमा भने एमालेका बस्नेत विजयी भएका थिए ।

नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले पाँच हजार ९७३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले तीन हजार ७३३,  राष्ट्रियत प्रजातन्त्र पार्टीका मोहन केसीले दुई हजार ३५२ प्राप्त गर्नु भएको  निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिनुभयो । कुल ९१ हजार ९११ मतदाता रहेका यस क्षेत्रमा ६५ हजार ९१९ मत खसेको थियो । मत गणना सक्दा २ हजार ५३ मत बदर भएको थियो ।

Europass CV in Nepal