केपी ओलीको आरोप : ‘गठबन्धन भित्र बहुमत पुर्‍याउन अब फोहोरी खेल सुरु हुन्छ’

केपी ओलीको आरोप  :  ‘गठबन्धन भित्र बहुमत पुर्‍याउन अब फोहोरी खेल सुरु हुन्छ’

काठमाडौं।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मतपरिणामले अब फोहोरी खेल सुरु हुने बताएका छन्। झापा क्षेत्र नं ५ बाट निर्वाचित भएका अध्यक्ष ओलीले प्रमाणपत्र ग्राहण गर्दै निर्वाचनको मत परिणामले कसैको एकल सरकार नबन्ने बताए।

उनले मिलीजुली सरकार बनाउनुको विकल्प नरहेको भन्दै अब फोहोरी खेलसमेत सुरु हुने बताए। ‘निर्वाचनको परिणामले कुनै पार्टीको बहुमत सरकार बन्दैन। मिलीजुली सरकार बन्छ। मिलीजुली सरकार बनाउँदा सुरुबाटै योग्य मान्छे दिनसक्ने स्थीति हुँदैन। बहुमत पुर्‍याउनका लागि अब फोहोरी खेल सुरु हुन्छ,’ उनले भने।

उनले निर्वाचनलाई गम्भीर निर्णय गर्ने उत्सवको रुपमा लिन आग्रह गरे। ‘यो रमाइलो गर्ने उत्सवजस्तो होइन। गम्भीर निर्णय लिने उत्सव हो। यही निर्णयले भोलि देशलाई कता लैजान्छ भन्ने कुराको निर्क्यौल हुन्छ,’ उनले भने।

Europass CV in Nepal

उनले यस निर्वाचनमा युवाहरुको उत्साह देखिएको बताए। ‘निर्वाचनअघि कता कता निर्वाचनप्रति युवाहरुको रुची घटेको भन्ने सुनिन्थ्यो। तर उम्मेदवारहरुको पंक्ति हेर्ने हो भने युवाहरुको उत्साह कायमै रहेको देख्न सकिन्छ,’ उनले भने।

उनले शानित्पूर्ण ढंगले निर्वाचन सम्पन्न गराएकोमा झापाका निर्वाचन अधिकृत, सरकारी कर्मचारी र सुरक्षाकर्मीलाई धन्यवाद दिएका थिए। उनले एमाले नेता कार्यकर्तालाई पनि उत्साहपूर्ण सहभागिताका लागि धन्यवाद दिएका थिए।