यस्ता छन् फिफा विश्वकपमा आएका धेरै अप्रत्यासित नतिजाहरु

यस्ता छन् फिफा विश्वकपमा आएका धेरै अप्रत्यासित नतिजाहरु

काठमाडौं । झण्डै सय वर्ष लामो इतिहास रहेको फिफा विश्वकपमा धेरै अप्रत्यासित नतिजाहरु आइरहेका छन् । जसमा कमजोर टिमले पनि ठूला टिममाथि अप्रत्यासित नतिजा निकालेका छन् । अर्जेन्टिना र फ्रान्सले साविक विजेताको रुपमा पहिलो खेलमै हार व्यहोरेको इतिहास छ ।

क्यामरुन, सेनेगल, अमेरिका, नर्वे र कोस्टारिका विश्वकपकै चर्चित जायन्ट किलर्सहरु हुन् । विश्वकप फुटबलको सर्वोच्च निकाय फिफाले अहिलेसम्मको विश्वकप फुटबलमा देखिएका अप्रत्यासित नतिजालाई यसरी सूचीबद्ध गरेको छ ।

फ्रान्स ०–१ सेनेगल (कोरिया जापान २००२)

Europass CV in Nepal

यो अप्रत्यासित नतिजा पहिलो खेलमै आएको थियो । पहिलो पटक विश्वकप खेलिरहेको सेनेगलले पहिलो खेलमै साविक विजेता फ्रान्सलाई १-० ले हरायो । सन् २००० को युरोकप समेत जितेको फ्रान्स दाबेदारको रुपमा विश्वकपमा पुगेको थियो । तर फ्रान्स पहिलो खेलमै स्तब्ध भयो ।

सेनेगललाई शानदार जित दिलाउन पापा बोउबा डिओपले निर्णायक गोल गरे । त्यसपछि उनी राष्ट्रिय नायक बने । तर सन् २०२० मा उनको मृत्यु भयो । डिओपसँगै विश्वकप खेलेका अलिउ सिसे हाल कतारमा सेनेगलको प्रशिक्षक छन् ।

सन् २००२ पछि सेनेगल २०१८ मा रुसमा भएको विश्वकपमा छनोट भयो । जहाँ फ्रान्स भने दोस्रो पटक च्याम्पियन बनेको थियो ।

अर्जेन्टिना ०–१ क्यामरुन (इटली १९९०)

चार वर्षअघि सन् १९८६ मा एकल प्रदर्शनमा डिएगो म्यारडोनाले अर्जेन्टिनालाई च्याम्पियन बनाएका थिए । सन् १९९० मा पनि सारा विश्वले म्याराडोनाबाट त्यस्तै किसिमको अपेक्षा गरेका थिए । तर पहिलो खेलमै साविक विजेता अर्जेन्टिना क्यामरुनसँग १-० ले स्तब्ध भयो । क्यामरुनका लागि फ्रान्कोइस ओमाम बियिकले विजयी गोल गरेका थिए ।

‘दी इन्डोमिटेबल’ लायन्सको रुपमा चर्चित क्यामरुन समूह विजेता बन्दै क्वाटरफाइनलसम्म पुगेको थियो तर इंग्ल्याण्डसँग पराजित हुँदै बाहिरियो । अर्जेन्टिना भने पहिलो खेल हारे पनि पुनरागमन गर्दै लगातार फाइनल पुग्‍यो । तर पश्चिम जर्मनीसँग पराजित हुँदै उपविजेतामा समेटियो ।

इटली ०–१ कोस्टारिका (ब्राजिल २०१४)

२०१४ को विश्वकपमा कोस्टारिका तीन पूर्व विजेतासँगै एकै समूहमा थियो । कोस्टारिकालाई काजवर टिमको रुपमा हेरिएको थियो । तर कोस्टारिकाले चार पटकको च्याम्पियन इटलीलाई स्तब्ध बनायो ।

पहिलो खेलमा उरुग्वेलाई पराजित गरेको कोस्टारिका दोस्रो खेलमा इटलीलाई हराएको थियो भने इंग्ल्याण्डसँग बराबरी खेल्दै समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको थियो ।

कोस्टारिकालाई जिताउन ब्रायन रुइजले निर्णायक गोल गर्दा गोलकिपर केयलर नाभासले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यही विश्वकपपछि नाभा रियल मड्रिड पुगेका थिए ।

इंग्ल्याण्ड ०–१ अमेरिका (ब्राजिल १९५०)

फुटबलको जननी मानिने इंग्ल्याण्ड त्यसबेला राम्रो टिम थियो । अमेरिका इंग्ल्याण्डको तुलनामा कमजोर टिम थियो । तर त्यही अमेरिकाले इंग्ल्याण्डलाई १-० ले हरायो । अमेरिकालाई जिताउन फरवार्ड जोए गाएटजेनले गोल गरेका थिए ।

तर दुवै टिम समूह चरणबाट अघि बढ्न सकेनन् ।

इटली ०–१ उत्तर कोरिया (इङ्ल्याण्ड १९९६)

उत्तर कोरियाले विश्वकपमा पहिलो पटक सहअभागिता जनाउँदै थियो भने इटली दुई पटकको च्याम्पियन थियो । तर समूहको अन्तिम खेलमा उत्तर कोरियाले इटलीमाथि अप्रत्यासित नतिजा निकाल्यो । जसले गर्दा इटली समूह चरणबाटै बाहिरियो । उत्तर कोरियाका लागि पाक डु इकले निर्णायक गोल गरे ।

क्वाटरफाइनलसम्म पुगेको उत्तर कोरियाले अर्को अप्रत्यासित नतिजा नजिक पुगेको थियो । तर पोर्चुगल विरुद्ध ३-० को अग्रता लिए पनि जोगाउन नसक्दा ५-३ ले पराजित हुँदै बाहिरियो । त्यसपछि उत्तर कोरिया एक पटक मात्र विश्वकपमा छनोट भएको छ । सन् २०१० मा उत्तर कोरिया समूहको तीनवटै खेल हार्दै बाहिरिएको थियो ।

पश्चिम जर्मनी १–२ अल्जेरिया (स्पेन १९८२)

दुई पटकको च्याम्पियन पश्चिम जर्मनी उपाधि दाबेदारमध्ये एक थियो । उता अल्जेरिया भने डेब्यु विश्वकप खेल्दै थियो ।तर अल्जेरियाले आफ्नो पहिलो खेलमै पश्चिम जर्मनीलाई २-१ ले हराएर सनसनी नतिजा निकाल्यो । अल्जेरियालाई जिताउन राबाह मजदेर र लाखदर बेलोउमीले गोल गरे । जदेर त्यसपछि युरोपियन फुटबलमै स्टार बने । उनले १९८७ को युरोपियन कप फाइनलमा पोर्टोबाट खेल्दै बायर्न म्युनिख विरुद्ध गोल गरेका थिए ।

त्यस विश्वकपमा अर्को खेलमा अष्ट्रियासँग पराजित भए पनि अल्जेरियाले चिलीलाई हराउँदै दोस्रो जित निकालेको थियो । तर नकआउट चरणमा पुग्न भने गोल अन्तर पर्याप्त भएन । सन् १९८२ पछि तीन पटक विश्वकप खेलेको अल्जेरिया सन् २०१४ मा अन्तिम १६ सम्म पुगेको थियो ।

दक्षिण कोरिया २–१ इटली (कोरिया/जापान २००२)

घरेलु भूमिका भइरहेको विश्वकपमा दक्षिण कोरिया पहिलो पटक अन्तिम १६ मा पुगेको थियो । इटली टिममा स्टार खेलाडीहरु थिए भने तीन पटक च्याम्पियन बनिसकेको थियो ।

आफ्नो समूहमा अपराजित रहँदै समूह विजेता बनेको कोरियाले अन्तिम १६ मा इटलीलाई २-१ ले स्तब्ध बनायो ।कोरियाका लागि सोल कि हाएओन र अह जंग ह्वानले गोल गरे । हवानले अतिरिक्त समयमा गोल गर्दै कवरियालाई जिताएका थिए । इटलीका लागि क्रिस्टियन भिएरीले १८औं मिनेटमा अग्रता दिलाए पनि जोगाउन सकेन ।

क्वाटरफाइनलमा कवरियाले स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनल पुग्यो । तर जर्मनीसँग पराजित १-० ले पराजित भएको कोरिया विश्वकपमा चौथो भएको थियो ।कोरियाले सन् २०१८ मा रुसमा भएको विश्वकपमा पनि समूह चरणमा जर्मनीलाई पराजित गरेको थियो ।

ब्राजिल १–२ नर्वे (फ्रान्स १९९८)

साविक विजेता ब्राजिललाई नर्वेले समूहको अन्तिम खेलमा पराजित गरेको थियो । एक गोलले पछि परेको नर्वेले कमब्याक गर्दै जित निकालेको थियो ।ब्राजिल भन्दा पछि रहेर अन्तिम १६ मा पुगेको नर्वे इटलीसँग पराजित हुँदै बाहिरिएको थियो । ब्राजिल भने फाइनलसम्म पुगे पनि फ्रान्सँग पराजित हुँदै उपविजेता बन्यो । नर्वेलाई शानदार जित दिलाउन टोर आन्द्रे फ्लो र आन्द्रे रेकदालले गोल गरेका थिए ।

तीन पटक विश्वकप खेलेको नर्वे १९९८ यता विश्वकपमा छनोट हुन सकेको छैन ।

पूर्वी जर्मनी १–० पश्चिम जर्मनी (जर्मनी १९७४)

त्यतिबेला जर्मनी दुई भागमा विभाजित थियो । पूर्वी जर्मनीले यसै संस्करणमा विश्वकपमा डेब्यु गरेको थियो । पश्चिम जर्मनी भने घरेलु मैदानमा दोस्रो पटक च्याम्पियन बन्ने लक्ष्यमा थियो ।

तर समूह चरणमै यी दुई भेट भयो । जसमा पूर्वी जर्मनीले पश्चिम जर्मनीलाई १-० ले स्तब्ध बनायो । उक्त खेलमा जर्गेन स्पार्वासेरले निर्णायक गोल गरेका थिए ।दुवै जर्मनी समूह चरण पार्दै गर्दै दोस्रो चरणमा पुगे । जहाँ पूर्वी जर्मनी बाहिरियो भने पश्चिम जर्मनी फाइनलसम्म पुग्दै नेदरल्याण्ड्सलाई हराएर च्याम्पियन बन्यो ।त्यसपछि पूर्वी जर्मनी पेरि विश्वकपमा छनोट हुन सकेन भने सन् १९९० मा जर्मनी एकीकरण भएपछि १९९४ देखि जर्मनीको नामबाट विश्वकप खेल्न थाल्यो ।

स्पेन २–३ नाइजेरिया (फ्रान्स १९९८)

नाइजेरिया आफ्नो दोस्रो पटक विश्वकप खेलिरहेको थियो । सन् १९९४ मा पहिलो पटक विश्वकप खेल्दा नाइजेरियाले राम्रो छाप छाडेको थियो ।फर्नान्डो हिएरो, राउल र लुइस इनरिके जस्ता खेलाडी रहेको स्पेनलाई फेभरेट मानिएको थियो । तर नाइजेरियाले स्पेनलाई ३-२ ले हरायो । नाइजेरियाका लागि मुटिउ अडेपुगे, सन्डे ओगोचुग्वु ओलिसेहले गोल गरे भने स्पेनका जुबिजारेताले आत्मघाती गोल गरेका थिए । स्पेनका लागि भने हिएरो र राउलले गोल गरे पनि जितका लागि पर्याप्त भएन ।

स्पेनलाई हराएपछि बुल्गेरियालाई पनि हराएको नाइजेरिया पराग्वेसँग पराजित भए पनि समूह विजेताको रुपमा नकआउट चरण पुगेको थियो । पाराग्वेसँग बराबरी र बुल्गेरियामाथि जित निकालेको स्पेन भने समूह चरणबाटै बाहिरियो ।

तर नाइजेरिया अन्तिम १६ मा डेनमार्कसँग ४-१ ले पराजित हुँदै बाहिरियो ।

…..यो दुई पनि

अहिले कतारमा २२ औं संस्करणको विश्वकप चलिरहेको छ । तर पहिलो एक चरणको खेल पनि नसकिंदै केही अप्रत्यासित नतिजा आइसकेको छ । दुई पूर्व च्याम्पियन अर्जेन्टिना र जर्मनी आफ्नो पहिलो खेलमै पराजित भइसकेका छन् ।

अर्जेन्टिना १–२ साउदी अरेबिया (कतार २०२२)

उपाधि दाबेदारमध्ये एकको रुपमा रहेको अर्जेन्टिनाले अग्रता लिएर पनि जोगाउन सकेन । सायदै कमैले अर्जेन्टिना पराजित हुने सोचेका थिए । कप्तान लिओनल मेसीको गोलमा अर्जेन्टिनाले पहिलो हाफमा अग्रता लिएको थियो ।

तर दोस्रो हाफमा साउदी अरेबियाले शानदार पुनरागमन गर्दै अर्जेन्टिनालाई स्तब्ध बनायो । अर्जेन्टिनामाथि साउदीको यो पहिलो जित समेत थियो । साउदीका लागि सालेह अल शेहरी र सालेम अल दावसरीले गोल गरेका थिए ।

समूह सीमा यी दुई टिमसँगै पोल्याण्ड र मेक्सिको पनि छन् । अब अर्जेन्टिना र साउदीको भाग्य के हुन्छ बाँकी खेलले निर्धारण गर्नेछ ।

जर्मनी १–२ जापान (कतार २०२२)

अर्जेन्टिना पराजित भएको भोलिपल्ट चार पटकको च्याम्पियन जर्मनी अर्को एसियन राष्ट्र जापानसँग उही नतिजामा पराजित भयो । अहिलेसम्म च्याम्पियन ८ र फाइनलिस्ट ५ गरी कुल १३ राष्ट्रले विश्वकप फाइनल खेल्दा जापानले यसअघि कसैलाई हराएको थिएन ।

तर सामुराई ब्लुको उपनामले चिनिने जापानले अन्तिम १५ मिनेटमा दुई गोल गर्दै जर्मनीमाथि २-१ को पुनरागमन जित निकाल्यो । साउदी र जापानको जितपछि अहिले साना देशलाई पनि आत्मविश्वास बढेको छ ।

 

Europass CV in Nepal