नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले प्रतिनिधि सभा सदस्यमा जीत हासिल गरेका छन्।चौधरीले निकटतम प्रतिद्वन्द्वी जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई हराउँदै जीत हात पारेका हुन्।
यसअघि पाँचपटक सोही क्षेत्रबाट सांसद भइसकेका हृदयेश त्रिपाठी यसपालि भने पराजीत भएका छन्।त्यस्तै समानुपातिकतर्फबाट दुई पटक सांसद भएका चौधरी यसपटक पहिलोपटक प्रत्यक्षबाट निर्वाचन लडेका हुन्।
पछिल्लो मतगणना अनुसार चौधरीले २९४९५ मत ल्याएका छन् भने त्रिपाठीले २२३०८ मत ल्याए। नवलपरासी- १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरी पनि बलियो प्रतिस्पर्धामा थिए। उनले १२४९९ मत पाए।
लालबाबु पण्डितलाई हराउँदै मोरङ-६ मा शेखर कोइराला विजयी
मोरङ-६ का कांग्रेस उम्मेदवार शेखर कोइराला आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका लालबाबु पण्डितभन्दा १२ हजार बढी मतले विजयी भएका छन्।पछिल्लो मत परिणामअनुसार कोइरालाले ३५ हजार २ सय १३ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी लालबाबु पण्डितले २२ हजार ९ सय २९ मत प्राप्त गरेका छन्। उनीहरूबीचको मत अन्तर १२ हजार २ सय ८४ छ।
२०६४ मा मोरङ-७ बाट संविधानसभा निर्वाचनमा पराजित शेखर कोइराला २०६५ मा भएको उपनिर्वाचनमा विजयी भएका थिए। त्यसपछि २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि उनले जित हात पारेका थिए। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने उनी मोरङ-६ बाट लालबाबु पण्डितसँग पराजित भएका थिए।