घानाले पोर्चुगलबाट हार बेहोर्नुका कारण रेफ्रीले रोनाल्डोलाई पेनाल्टी उपहार : प्रशिक्षक ओटो

घानाले पोर्चुगलबाट हार बेहोर्नुका कारण रेफ्रीले रोनाल्डोलाई पेनाल्टी उपहार : प्रशिक्षक ओटो

कतार । घानाका प्रशिक्षक ओटो अद्दोले पोर्चुगलविरुद्ध खेलमा रेफ्रीले आफ्नो पक्षमा निर्णय नदिएको कारण नै हार बेहोरेको बताउँदै रोनाल्डोलाई रेफ्रीले पेनाल्टी उपहार दिएको बताएका छन् ।

विहीबार रंगशाला ९७४ मा पोर्चुगलविरुद्ध ३-२ को हार बेहोरेपछि पत्रकार सम्मेलनमा बोल्दै ओटोले रेफ्रीको निर्णयका कारण खेल हार्न पुगेको बताए । ‘पेनाल्टीसम्म हामीले राम्रो खेल्यौं । कम अवसर पाएपनि हामीले राम्रो डिफेन्स गरेका थियौं । पोर्चुगलले गोल गरेपछि खेल परिवर्तन भयो । त्यो पेनाल्टी गलत निर्णय थियो । बल हामीले खेलेका थियौं र त्यो अवस्थामा खेलाडी जुध्दा त फल थिएन नै भन्ने लाग्छ,’ उनले भने ।

कप्तान आयुलाई परिवर्तन गर्नुले खेलमा असर नगरेको उनको बुझाइ थियो । ‘कप्तान आन्द्रेलाई पहेंलो कार्ड पाएपछि अन्त्यमा परिवर्तन गरेका थियौं । नयाँ खेलाडीले जोश प्रदान गर्ने सोचेको थिएँ । खेल १-१ को बराबरीमा हुँदा उनलाई विश्राम दिएको थियौं । उनको अनुपस्थितिले असर परेको थिएन,’ ओटोले थपे ।

Europass CV in Nepal

रेफ्रीको निर्णयप्रति भने ओटो निकै निराश देखिए । ‘हामी अलिकति अभागी भयौं । रेफ्रीले पनि हाम्रो पक्षमा निर्णय दिएनन् । आज हामीले राम्रो खेलेका हौं, तर नतिजा निकाल्न नसक्दा दुखी छौं ।’

‘हामीले रेफ्रीका कारण हार्यौं भन्न सक्छौं । खेल दुवै तर्फ जान सक्थ्यो । इनाकीले अन्तिममा बराबरी गर्ने अवसर पनि पाएका थिए, तर दुर्भाग्य उनी चिप्लिन पुगे । विश्वको उत्कृष्ट मध्यको टोलीसँग यो स्तरको खेल देखाउँदा खुसी नै छु ।’‘हामीले रेफ्रीसँग खेलपछि बोल्ने प्रयास पनि गरेका थियौं । तर रेफ्री मिटिङमा व्यस्त रहेको भन्दै बोल्न पाएनौं । यस्तो निर्णय दिएपछि त्यसबारे हामीले बोल्न पनि पाउनुपर्छ ।’

ओटोले अफ्रिकी राष्ट्रले जारी विश्वकपको पहिलो खेल सकिँदा जित हासिल गर्न नसकेकोमा पनि आफ्नो धारणा राखे । ‘अफ्रिकी राष्ट्रको कुरा गर्दा हाम्रो महादेशबाट ५ राष्ट्र मात्र आएका छन् । युरोपबाट १२-१४ देश आउँछन् । हामीले आज प्रतिस्पर्धा गर्यौं, सेनेगलले पनि नेदरल्यान्ड्सलाई चुनौती दिएको छ । हामीले नराम्रो खेलेका छैनौं,’ उनले बताए ।

घाना अझैपनि नकआउट चरण जान सक्नेबारे ओटो सकारात्मक देखिए ।’हामीसँग अझै अघि बढ्ने अवसर छ । अर्को खेल बराबरी भएकाले पनि हामीलाई अवसर छ । अर्को खेलमा हामी र पोर्चुगल दुवैले जित हासिल गरे हामी दोस्रो स्थानमा जानेछौं । अर्को खेल कोरियासँग कठिन हुनेछ । उनीहरु पनि दबाबमा नै छन्,’ ओटोले भने ।

ओटोलाई रोनाल्डोले पाँचौ विश्वकप खेल्दै सबै संस्करणमा गोल गरेकोबारे प्रश्न सोधिएको थियो । तर उनले रोनाल्डोबारे खुलेर बोल्न चाहेनन् । ‘गोल गर्ने हरेक खेलाडीलाई बधाई दिन चाहन्छु । रोनाल्डोलाई पनि बधाई छ । तर आजको गोल उपहार थियो । रोनाल्डोले रेफ्रीबाट विशेष उपहार पाए,’ उनले थपे ।